वाग्मती । बागमती प्रदेश प्रदेश सभाले विगत साढे चार वर्षको अवधिमा ७० वटा विधेयक पारित गरेको छ ।
सो सभाबाट मूल विधेयक ५५ वटा तथा संशोधन विधेयक १५ वटा गरी कूल ७० वटा विधेयक पारित भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । त्यसैगरी ६६ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणित भइसकेको उहाँले भन्नुभएको छ ।
प्रदेश सभाबाट वटा अध्यादेश पारित गरेको तथा तीन वटा विधेयक विविध कारणले स्वीकृत हुन नसकेको बताइएको छ । सङ्घीय सरकारले कतिपय ऐन नबनाउँदा प्रदेश सरकारले चाहेर पनि आवश्यक ऐन बनाउन नसकेको उहाँको गुुनासो रहेको छ ।
प्रदेश सभाको वैठक हालसम्म दुई सय ८८ घण्टा २० मिनेट बसेको सो प्रदेश सभाले जनाएको छ । त्यसैगरी हालसम्म प्रदेश सभामा ११ वटा शुन्य समय तथा २९ वटा विशेष समयको कार्यक्रम राखिएको बताइएको छ ।
मूलतः नीति कार्यक्रम र बजेट निर्माणमा केन्द्रित रहेको प्रदेशसभाको दशाैं अधिवेशनमा मूल विधेयक तीन वटा र संशोधन विधेयक तीन वटा तथा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक एक वटा पारित भएको सभामुख श्रेष्ठले बताउनुभयो । यस्तै तीन वटा प्रतिस्थापन विधेयक पारित हुन नसकेको बताइएको छ ।
–रासस
