काठमाडाैं । राष्ट्रिय सभा बैठक आज बस्दै छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सराेकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा पार्वतीले 'राष्ट्रिय गाैरवका आयाेजना अध्ययन प्रतिवेदन,२०७९' सम्बन्धी समितिकाे प्रतिवेदन पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 'कारागार विधेयक,२०७६ लाई सभासमक्ष टेबुल गर्नुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
उहाँले नै राष्ट्रिय सभाबाट पारित भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 'याेगमाया आयुर्वेद विश्वविद्यालय विधेयक,२०७९' का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशकाे जानकारी गराउनुहुनेछ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको 'शपथ सम्बन्धी विधेयक, २०७८ माथि छलफल गरियाेस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । उहाँले नै 'शपथसम्बन्धी विधेयक,२०७८ लाई पारित गरियाेस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
बैठकमा भौतिक पूर्वाधारमन्त्री मोहमद इश्तियाक राईले 'नेपाल इञ्जिनियरिङ परिषद (पहिलो संशोधन) विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियाेस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले 'जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहनुे कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
