काठमाडाैं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रिय सभाबाट पारित भएकाे छ ।
याेसँगै नेपाल नागरिकता ऐन २०६३ लाई संशाेधन गर्न बनेकाे विधेयक संघीय संसद्का दुबै सदनबाट पारित भएकाे छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट पारित भएर आएको विधेयक बहुमतले पारित गरेको हाे ।
गृहमन्त्री बालकृष्ण खाँडले साे विधेयक पारित गर्ने प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत गर्नुभएकाे थियाे । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ पेस गर्नुभएकाे थियाे ।
अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयक कानुनका रूपका लागू हुनेछ ।
खानेपानी तथा सरसफाइ विधेयक पारित
प्रतिनिधि सभाबाट सन्देशसहति विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको उक्त विधेयक खानेपानीमन्त्री उमाकान्त चौधरीले पारित गरियोस् भनी बैठकमा प्रस्तुत गर्नुभएको थियो ।
उक्त विधेयकमाथिको छलफलमा सांसद प्रकाश पन्थले भाग लिनुभएको थियो । सांसदले उठाएका प्रश्नको जवाफमा खानेपानीमन्त्री चौधरीले विधायन व्यवस्थापन समितिमा महत्वपूर्ण छलफल भएर विधेयक समृद्ध बनाएको जानकारी दिनुभयो ।
उहाँले अहिलेको अवस्थामा संविधानलाई कार्यान्वनय तथा दीगो विकास लक्ष्य पूरा गर्न सरकारले लिएको नीति र कार्यक्रम व्यवस्थापन र कार्यान्वयका लागि अति आवश्यक भएकाले विधेयक ल्याइएको जानकारी दिनुभयो ।
राष्ट्रिय सभाको अर्काे बैठक यही २३ गते अपराह्न १ बजे बस्ने गरी स्थगित भएको छ ।
