काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मा काण्डबारे छानबिन गर्न बनेकाे संसदीय छानबिन विशेष समितिले आफ्नाे प्रतिवेद आज सभामुख अग्निप्रसाद सापकाेटालाई बुझाउँदैछ ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति राखेर करका दर हेरफेर गरेकाे र सीसीटिभी फुटेज डिलिट भएकाे विषयमा छानबिन गर्न बनेकाे समितिले आज प्रतिवेदन बुझाउन लागेकाे हाे ।
अनधिकृत व्यक्ति राखेर करका दर हेरफेर गरेकाे आराेप लागेपछि शर्माले राजीनामा दिनुभएकाे थियाे । उहाँमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति बनाएको थियो ।
समितिले विभिन्न पक्षसँग छलफल गरेर प्रतिवेदन तयार गरेको छ । प्रतिवेदनलाई अन्तिम रुप दिन बिहीबार दिनभर समितिको बैठक बसेको थियो । समितिका सदस्य सचिव सुरेन्द्र अर्यालका अनुसार समितिका सभापति लक्ष्मणलाल कर्णले आज सभामुख सापकोटालाई साे प्रतिवेदन बुझाउनुहुनेछ ।
गत असार २२ गते बसेको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले साे काण्डमा छानबिन गर्न ११ सदस्यीय छानबिन विषेश समिति गठन गर्नुभएकाे थियाे । समितिमा सांसद् खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम), प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव रहनुभएको थियो । पुष्पा भुसाल उपसभामुख बनेपछि उहाँकाे ठाउँमा मीन विश्वकर्मालाई राखिएकाे थियाे ।
संसदीय छानविन समिति गठन भएपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको थियो । समितिले पूर्वअर्थमन्त्री शर्मा, अर्थ मन्त्रालयका सचिव, बजेट निर्माणमा संलग्न उच्चपदस्थ कर्मचारीसँग बयान लिएको थियो । समितिलाई १० दिनभित्र प्रतिवेदन दिन भनिएको थियो । तोकिएको समितिले काम नसकेपछि प्रतिनिधि सभाले ७ दिन समय थप गरेको थियो । समितिको अन्तिम म्याद बिहीबार सकिएको छ ।
