काठमाडाैं । नेकपा एमालेकी सांसद् डा. शिवमाया तुम्बाहाङ्फेले स्टेर पार्टनरसिप प्राेग्राम (एसपीपी) मा सहभागी नहुने भनेर सरकारले पठाएकाे पत्र सार्वजनिक गर्न माग गर्नुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारका तर्फबाट परराष्ट्र मन्त्री डा. नारायण खड्काले एसपीपीमा सहभागी नहुने भनेर साउन ९ गते कूटनीतिक माध्यममार्फत अमेरिकालाई लिखित पत्र पठाइएकाे जानकारी दिनुभयाे ।
साे विषयमा परराष्ट्रमन्त्रीसँग स्पष्टिकरण माग गर्दै सांसद् तुम्बाहाङ्फेल पत्रबारे अस्पष्ट भएकाे भन्दै स्पष्ट पार्न माग गर्नुभयाे । उहाँले भन्नुभयाे - 'मन्त्रीज्यूले एसपीपीमा सहभागी नहुने भनेर पत्र पठाइएकाे तिथिमिति बताउँदा खुशी लाग्याे, तर त्याे पत्रमा के छ भन्ने कुरा सबै नेपाली जनताले थाहा पाउनुपर्याे,संसद्मा पनि त्याे कुरा भन्नुपर्याे र त्याे पत्र सार्वजनिक गर्नुपर्याे ।'
