काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मा काण्डबारे छानबिन गर्न बनेकाे संसदीय छानबिन विशेष समितिले आफ्नाे प्रतिवेदन बुझाएकाे छ ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति राखेर करका दर हेरफेर गरेकाे र सीसीटिभी फुटेज डिलिट भएकाे विषयमा छानबिन गर्न बनेकाे समितिले आज सभामुख अग्निप्रसाद सापकाेटालाई प्रतिवेदन बुझाएकाे हाे ।
संसदीय छानविन विशेष समितिका तर्फबाट मा. सभापति लक्ष्मणलाल कर्णले सभामुख सापकोटा समक्ष समितिले तयार गरेको प्रतिवेदन पेस गर्नु भएको छ । संघीय संसद् भवनस्थित सभामुखकाे कार्यकक्ष पुगेर कर्णले प्रतिवेदन हस्तान्तरण गर्नुभयाे । प्रतिवेदन हस्तान्तरणमा समितिका सबै सदस्यहरू उपस्थित थिए । साे प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पनि पेस भएकाे छ ।
प्रतिवेदन पेस भएसँगै प्रतिनिधि सभा बैठक साउन १८ गतेसम्मका लागि स्थगित भएकाे छ ।
अनधिकृत व्यक्ति राखेर करका दर हेरफेर गरेकाे आराेप लागेपछि शर्माले राजीनामा दिनुभएकाे थियाे । उहाँमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति बनाएको थियो ।समितिले विभिन्न पक्षसँग छलफल गरेर प्रतिवेदन तयार गरेको थियाे ।
गत असार २२ गते बसेको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले साे काण्डमा छानबिन गर्न ११ सदस्यीय छानबिन विषेश समिति गठन गर्नुभएकाे थियाे । समितिमा सांसद् खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम), प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव रहनुभएको थियो । पुष्पा भुसाल उपसभामुख बनेपछि उहाँकाे ठाउँमा मीन विश्वकर्मालाई राखिएकाे थियाे ।
संसदीय छानविन समिति गठन भएपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको थियो । समितिले पूर्वअर्थमन्त्री शर्मा, अर्थ मन्त्रालयका सचिव, बजेट निर्माणमा संलग्न उच्चपदस्थ कर्मचारीसँग बयान लिएको थियो । समितिलाई १० दिनभित्र प्रतिवेदन दिन भनिएको थियो । तोकिएको समितिले काम नसकेपछि प्रतिनिधि सभाले ७ दिन समय थप गरेको थियो । समितिको अन्तिम म्याद बिहीबार नै सकिएको छ ।
