काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले ‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पत्ति भएको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ संशोधनविना राष्ट्रिय सभाबाट पारित भएको सन्देशको व्यहोरा पढेर सुनाउनुभएको थियो । राष्ट्रियसभाबाट बिहीबार सो विधेयक पारित भएको थियो ।
उहाँले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शपथसम्बन्धी विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नुभएको थियो ।
-रासस
