काठमाडाैं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसदीय छानबिन समितिले प्रतिनिधि सभामा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताउनुभएकाे छ ।
संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै छानबिन समितिका सदस्य समेत रहनुभएका सांसद् ज्ञवालीले जनार्दन शर्मा काण्डमा संसदीय छानबिन विशेष समितिले पूर्ण रुपमा काम गर्न नसकेकाे बताउनुभयाे ।
समितिमा रहेका सत्तापक्षका सांसद्का कारण छानबिन पूर्ण हुन नसकेको सांसद् ज्ञवालीले प्रष्ट पार्नुभयाे । अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा सीसीटिभी बाहेक अन्य विषयमा अनुसन्धान हुन नसकेकाे उहाँकाे भनाइ छ ।
अनधिकृत भनिएका व्यक्तिहरुको कल डिटेल लिने र लोकेशन लिने तथा सो समयमा मन्त्रालयमा रहेका व्यक्तिहरुको नाम संकलन गरेर सोधपुछ गर्ने काममा पनि समिति सफल हुन नसकेको सांसद् ज्ञवालीकाे गुनासाे छ ।
अनुसन्धान पूर्ण हुन नसक्दा निष्कर्ष पनि पूर्ण रुपमा पुग्न नसकेको भन्दै उहाँले मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गरेको भन्ने विषय निराधार हो भन्ने अवस्थामा पुग्न नसकेको बताउनुभयो । अहिले व्यक्ति, पार्टी र सरकार भन्दा पनि पद्धति मुख्य विषय भएको र समितिमा तथ्यमा नै पूर्ण रुपमा छलफल हुन नसकेको सांसद् ज्ञवालीले बताउनुभयाे । समितिले बनाएको कार्यविधि अनुसार पनि काम हुन नसकेको समेत उहाँले बताउनुभयाे ।
