काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघ र प्रदेशकाे चुनाव समयमै नगर्ने षड्यन्त्र भइरहेकाे बताउनुभएकाे छ ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको बैठक तथा प्रशिक्षण समारोहको उद्घाटन सत्रलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले ताेकिएकै समयमा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुनुपर्ने बताउनुभयाे । यद्यपि निर्वाचनलाई पर सार्ने षड्यन्त्र भइरहेका उहाँकाे भनाइ छ ।
अध्यक्ष ओलीले भन्नुभयाे - 'जस्तासुकै षड्यन्त्र भएपनि हामी निर्वाचनतिर जाँदैछाैं, देशमा निर्वाचन हुनैपर्छ, बढ्तै सारे २ महिना ४ महिना सार्लान् फेरिपनि निर्वाचनबाट बचेर उम्केर जाने त कतै ठाउँ छैन ।'
विगतमा एमाले लाेकतन्त्रकाे प्राप्तिका लागि लडेकाे भन्दै उहाँले आज लाेकतन्त्रकाे रक्षाका लागि लड्नुपरेकाे बताउनुभयाे । समयमै चुनाव गराउनका लागि दबाबमूलक कार्यक्रम गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै अध्यक्ष ओलीले तयारी मानसिकतामा रहन आग्रह गर्नुभयाे ।
संघ र प्रदेशकाे चुनावकाे तयारी पार्टी, युवा र जनवर्गीय संगठनका लागि प्रमुख कार्यभार रहेकाे समेत अध्यक्ष ओलीले बताउनुभयाे । चुनावकाे तयारी भनेकाे उम्मेदवार छान्ने र उठाउने नभएर एमालेलाई विजय गराउनु रहेकाे प्रष्ट पार्दै उहाँले भन्नुभयाे - 'एमालेकाे तयारी भनेकाे विजयकाे तयारी हाे,हामी त्यसैगरी तयारीमा लाग्नुपर्छ ।'
एमाले विशेष अवस्थामा रहेकाे भन्दै अध्यक्ष ओलीले विशेष शक्तिकाे रुपमा एमालेले आफूलाई प्रस्तुत गर्नुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'नेकपा एमाले विशेष अवस्थामा छ, चारैतिरबाट घेरिएकाे अवस्थामा छ, विशेष शक्तिकाे रुपमा एमालेले आफूलाई प्रस्तुत गर्नुपर्ने छ, चाैतर्फी घेराबन्दी भएपनि, चाैतर्फी हमला भएपनि सबै शक्ति एकातिर लागेर एमालेलाई कमजाेर पार्न खाेजेपनि कमजाेर पार्न सक्दैनन् एमालेले सबैलाई पराजित गरेर विजय हासिल गर्न सक्छ भन्ने कुरा हामीले पुष्टि गर्न सक्नुपर्छ, हाम्राे तयारी भनेकाे विजयकाे तयारी हाे ।'
आफूहरुलाई निर्वाचनमा केन्द्रित गर्न युवा संघलाई उहाँले निर्देशन पनि दिनुभयाे । घरघरमा सदस्य र टाेलटाेलमा कमिटी विस्तार गरेर संगठनलाई व्यापक रुपमा विस्तार गर्न समेत युवा संघलाई उहाँले अुनराेध गर्नुभयाे ।
भ्रष्ट्राचार र महंगी विरुद्ध लगायतका आन्दाेलनमा नेतृत्वदायी भूमिका खेलेकाे भन्दै उहाँले युवा संघकाे प्रशंसा गर्नुभयाे । गत वर्ष एमालेमाथि आन्तरिक र बाहिर चर्काे माेर्चाबन्दी र घेराबन्दी भएकाे स्मरण गर्दै उहाँले पार्टीपंक्ति,महिला युवाले निष्ठा देखाएर आफूलाई पार्टीकाे पक्षमा उभ्याएकाे भन्दै प्रशंसा गर्नुभयाे ।
