काठमाडाैं । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले मधेशी समुदायको स्पष्टता कायम गर्न मधेशी आयोगलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको समितिकाे बैठकले निश्चित आधारमा तय गरिने कुनै जात वा समुदाय मधेशी हुन भन्ने अवधारणामा स्पष्टता नआएसम्म आयोगको कार्यक्षेत्रको दायरा निर्क्याैल हुन नसक्ने ठहर गरेकाे हाे ।
यसबाट कार्यसम्पादनमा समेत अन्यौलता आउने देखिएकाले मधेशी समुदायको स्पष्टता कायम गर्न मधेशी आयोगलाई निर्देशन दिइएकाे समिति सभापति निरुदेवी पालले जानकारी दिनुभयो । संघीय एवं प्रदेश सरकारले कार्यान्वयन गर्ने मधेश सम्बद्ध कार्यक्रम समेत समन्वयमा हुन नसकेको देखिएकाले सिफारिस भएका नीति, कार्यक्रमको प्रभावकारीताको मूल्यांकन गर्न, प्रदेश एवं स्थानीय तहसँग समन्वय गरी कार्यक्रम दोहरिन नदिने गरी कार्यसम्पादन गर्न पनि आयोगलाई निर्देशन दिइएको पालले बताउनुभयाे ।
बैठकले मधेशी, थारु, मुस्लिम, आदिवासी जनजाती लगायत समूहमा हुने कार्यक्रममा दोहोरोपना हुने गरेकाले सामान्य प्रशासन मन्त्रालयको समन्वयमा नदोहरिने किसिमले कार्यक्रम गर्न मधेशी आयोग लगायत अन्य आयोगलाई निर्देशन दिएको सभापति पालले जनकारी दिनुभयो ।
बैठकले मधेशी समुदायभित्रको उत्पीडन, दाईजो बोक्सी प्रथा जस्तै कुसंस्कारलाई नियन्त्रण गर्न आयोगको महत्वपूर्ण योगदान रहने ठहर गरेकाे छ । यसका लागि स्थानीय तहसँग प्रभावकारी समन्वय गरफ निरोधात्मक प्रकृतिका कार्यलाई प्राथमिकता दिन पनि मधेशी आयोगलाई निर्देशन दिइएकाे पालले बताउनुभयाे ।
