काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद् रेनुका गुरुङले आफ्नो घरमा बम पड्काइएको दाबी गर्दै सुरक्षा माग गर्नुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् गुरुङले महाराजगञ्ज स्थित आफ्नो निवासमा सोमबार राति ८:२५ गते राति बम प्रहार भएको दाबी गर्नुभयाे । आफू र आफ्नो परिवारमाथि सुरक्षा थ्रेट बढेको भन्दै उहाँले पूर्व राज्यमन्त्रीको हैसियतमा आफूलाई आजीवन निजी सुरक्षा अधिकारी (पीएसओ) माग गर्नुभयाे ।
बम प्रहार भएपछि आफूले गृहमन्त्री बालकृष्ण खाँड र उपसभामुख पुष्पा भुसाललाई फाेन गरेकाे पनि उहाँले सुनाउनुभयाे । 'हिजो बेलुकी ८ः२५ बजे मेरो घरको गेटभित्र बम पड्काइयो, घरका सबै आतंकित भए, झ्याल खोलेर हेरेँ, दुई जना लोग्ने मान्छे मोटरसाइकलमा गएको देखेँ तर अँध्यारो भएकाले चिन्न सकिन, महाराजगञ्ज थानाको नम्बर खोजेर फोन गरेँ, गृहमन्त्रीको फोन उठेन, त्यसपछि उपसभामुख पुष्पा भुसाललाई फोन गरेँ उहाँबाट सान्त्वना पाएँ'-गुरुङले भन्नुभयाे ।
आफ्नाे घरकाे कम्पाउण्ड भित्र रकेट बमको खोल भेटिएको गुरुङकाे दाबी छ । 'प्रहरी आएपछि म पनि माथिबाट तल ओर्लिएँ। कम्पाउण्ड भित्र रकेट बमको खोल भेटिएको जुन प्रहरीले लिएर गए, संघीय सांसद् र कार्यपालिका सदस्य भइसकेकोले म र मेरो घरपरिवारको सुरक्षार्थ पूर्वराज्यमन्त्रीले पाउनुपर्ने आजीवन पिएसओ (निजी सुरक्षाकर्मी) पाउनका लागि सभामुखमार्फत गृहमन्त्री समक्ष माग गर्दछु ।'
