काठमाडौं । नेकपा एमालेका सांसद् यज्ञराज सुनुवारले नेपाली कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) को नाम परिवर्तन गर्नुपर्ने बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् सुनुवारले नेविसंघको नाम परिवर्तन गरी विश्वविद्यालय बिगार्ने (विबि) संघ राख्नुपर्ने बताउनुभयाे । त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गर्ने कामकाे नेतृत्व नेविसंघले लिएकाे उहाँले बताउनुभयाे ।
त्रिभुवन विश्वविद्यालयमा पटकपटक तालाबन्दी हुने गरेकाे भन्दै उहाँले माघ देखि जेठसम्म लगातार ५ महिना बन्द भएकाे बताउनुभयाे । एमालेले निरन्तर आवाज उठाएपछि त्याे ताला खुलेकाे सांसद् सुनुवारले स्मरण गराउनुभयाे । त्रिवि सेवा आयाेगले प्राध्यापक र सहप्राध्यापककाे माैखिक परीक्षा लिने चरणमा पुगेका बेला त्रिविकाे रजिष्टार कार्यालय, शिक्षक सेवा आयाेग र डिन कार्यालय साउन १३ गतेदेखि तालाबन्दीकाे अवस्थामा रहेकाे बताउनुभयाे ।
पटकपटककाे तालाबन्दीले त्रिवि अस्तव्यस्त भएकाे भन्दै सांसद् सुनुवारले यसमा गम्भीर बन्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । उहाँले भन्नुभयाे - 'यो तालाबन्दी कुनै आन्दोलनकारीबाट, कुनै अन्य विद्यार्थी संगठनबाट भएको छैन, त्रिभूवन विश्वविद्यालयमा तालाबन्दी यस्तो अवस्थामा भएको छ, प्राध्यापक र सह प्राध्यापकको र कर्मचारीहरुको मौखिक परीक्षा लिने बेलामा साउन १३ गतेबाट फेरि त्रिभूवन विश्वविद्यालय अस्तब्यस्तको दिशामा अघि बढेको छ, यो तालाबन्दी सत्तारुढ पार्टीको त्यसमा पनि प्रधानमन्त्रीको पार्टी, त्यसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट भएको छ, नेपाल विद्यार्थी संघको नाम अब परिवर्तन गरेर वि.वि.संघ अर्थात् विश्वविद्यालय बिगार्ने संघ राख्न म प्रस्ताव गर्न चाहन्छु ।'
नेविसंघका नाममा ४ वटा समूह बनाएर त्रिविलाई अस्थिर बनाउन खाेजिएकाे भन्दै सांसद् सुनुवारले आपत्ति जनाउनुभयाे ।
