काठमाडाैं । प्रतिनिधि सभाको आजको बैठकमा सांसद अनिलकुमार झाले न्याय क्षेत्रलाई समावेशी बनाउनुपर्ने माग गर्नुभएको छ ।
विशेष समयमा बोल्दै सांसद झाले भन्नुभयो, “अहिले न्यायपालिकाका न्यायाधीश नियुक्तिको कुरा भइरहेको छ, विद्यमान ऐन÷कानुनले न्यायाधीशको नियुक्ति समावेशी आधारमा हुनुपर्छ भनेको छ, तर तीन वर्षदेखि जिल्ला न्यायाधीशमा ८० न्यायाधीश नियक्त हुँदा एकजना पनि मधेसी समुदायको नियक्त भएका छैनन् ।”
विशेष सयममा बोल्दै सांसद सञ्जयकुमार गौतमले जङ्गलको नजिकै रहेका मानव बस्तीहरु वन्यजन्तुको आक्रमणको उच्च जोखिममा रहेको बताउँदै वन्यजन्तु र मानवबीचको सहअस्तित्व कायम गर्न वन्यजन्तुलाई वनमै र मानिसलाई घरमै राख्ने रणनीति बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, 'मध्यवर्ती क्षेत्रमा रहेका जनताको सुरक्षाका लागि तारबार, बीमा, पशुचौपाया, घरगोठ बीमा निःशुल्क व्यवस्था गर्न माग गर्दछु । बाघको संख्या पनि कति बनाउने हो त्यो स्पष्ट हुनुपर्यो ।'
सांसद सुरेशकुमार राईले उद्यपुर जिल्लामा बलात्कारका घटना बढ्दै गएको भन्दै त्यसको अन्त्यका लागि पहल गर्न माग गर्नुभयो । शिक्षा क्षेत्रको समग्र सुधारका निम्ति नयाँ शिक्षा ऐनमार्फत दीर्घकालीन समाधान खोज्नुपर्ने उहाँको भनाइ थियो । सांसद सुरेन्द्रकुमार यादवले चिकित्सा क्षेत्रमा भएका विकृतिप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्यो तर नेपालमा किन घटेको छैन भन्दै सरकारलाई प्रश्न गर्नुभयो । सांसद यज्ञराज सुनुवारले पछिल्लो समयमा त्रिभुवन विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको बताउँदै त्रिवि सुधारका निम्ति आग्रह गर्नुभयो । सांसद डा. अमरेशकुमार सिंहले देशको आर्थिक अवस्था कमजोर हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
भूकम्प प्रभावितको पुनःस्थापनाका लागि ध्यानाकर्षण
प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उहाँले भूकम्पबाट भएको क्षतिको तत्काल विवरण संकलन गरेर विस्थापितहरुलाई स्थापित गर्न माग आग्रह गर्नुभयो ।
विपद् व्यवस्थापन प्राधिकरण सक्रिय नभएको र सरकारी तवरबाट पनि क्षति सङ्कलन सुस्त भएको भन्दै सांसद भट्टराईले क्षतिको विवरण लिएर पीडितलाई राहत दिन आग्रह गर्नुभयो । उहाँले भूकम्पले खोटाङ जिल्ला र आसपासका क्षेत्रका जनतालाई त्रसित तुल्याएको बताउनुभयो । घटनामा प्रहरी चौकी, विद्यालय, सहकारी भवन आदिमा आंशिक क्षति पुगेको तथा जिल्लाका ४७५ वटा घर चर्किएको र केही घर पूर्ण रुपमा क्षति भएको विवरण रहेको भन्दै पुनःस्थापनाको कामलाई अविलम्ब अघि बढाउन आग्रह गर्नुभयो ।
यही साउन १५ गते खोटाङको साकेला गाउँपालिका–५ स्थित मार्तिमबिर्ता केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम गएको थियो ।
सांसद भट्टराईले हालै सरकारले नेकपाको विप्लव समूहलाई कारबाहीको पत्राचार गरेको समाचार आएको भन्दै उक्त पत्र फिर्ता लिएर त्यस्ता समूहको शान्तिपूर्ण बाटो रोज्ने प्रस्तावलाई प्रोत्साहन गर्न अनुरोध गर्नुभयो । तत्कालीन सरकारसँग तीनबुँदे सहमति गरेर शान्ति प्रक्रियामा ल्याइएको विप्लव र सिके राउत समूहलाई शान्तिपूर्ण बाटोमा प्रोत्साहन गरिनुपर्नेमा जोड दिनुभयो ।
पहिरोपीडित परिवारलाई राहतको व्यवस्था गर्न सांसदहरुको माग
सांसदहरुले देशका विभिन्न क्षेत्रमा भएको पहिरापीडित परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
शून्य समयमा सांसद भूपेन्द्रबहादुर थापाले दुई दिनको अविरल वर्षाका कारण म्याग्दी जिल्लाका विभिन्न स्थानमा पहिरामा परी बेपत्ता भएका परिवारको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले पहिरोपीडितलाई तत्काल राहत र पुनःस्थापना गर्नुपर्ने मागसमेत गर्नुभयो । म्याग्दी जिल्लामा दलित समुदायको बस्ती अत्यन्त जोखिममा रहेको बताउँदै उहाँले ती बस्तीलाई अन्यत्र स्थानान्तर गर्नसमेत माग गर्नुभयो ।
सांसद रामबहादुर विष्टले अछाम जिल्लाका विभिन्न स्थानमा अविरल वर्षाका कारण पहिरो आउँदा मानवीय र भौतिक क्षति भएको बताउँदै पहिरापीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । महेन्द्रकुमारी लिम्बूले प्रदेश १ को खोटाङ जिल्लालाई केन्द्रविन्दु बनाएर यही साउन १५ गते गएको भूकम्पका कारण भौतिक क्षति भएको बताउँदै उचित राहत र क्षतिपूर्तिको माग गर्नुभयो । सांसद महेश बस्नेतले मुलुकमा महँगी, भ्रष्टाचार, हत्या, हिंसाका घटना बढ्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद मीनबहादुर विश्वकर्माले बिजुलीबजारस्थित नेपाल चक्रवर्ती हवी कलेजमा शुल्क वृद्धिको विरोधमा गरिएको धर्नाका क्रममा नेपाल विद्यार्थी सङ्घका नेताहरुमाथि प्रहरीले आक्रमण गरी घाइते बनाएको भन्दै आपत्ति जनाउनुभयो । सांसदद्वय रङ्गमती शाही र मीना सुब्बाले सरकारी र निजी विद्यालयमा अध्ययनरत विद्यार्थीबीच विभेद गर्न नहुने भन्दै शिक्षामा सबै विद्यार्थीको समान पहुँचको माग गर्नुभयो ।
सांसद मोहन बाँनियाले कर्णाली करिडोरलाई द्रूत गतिमा अगाडि बढाउन आग्रह गर्नुभयो । सांसद मोहनप्रसाद पाण्डेले पाल्पाका विभिन्न स्थानमा सडक निर्माण कार्यलाई जतिसक्दो चाँडो अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद यशोधा गुरुङ सुवेदीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी र सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयनका निम्ति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रामवीर मानन्धरले संसद्मा शून्य समयमा सांसदहरुले बोलेका विषय कार्यान्वयन हुनुपर्छ भन्नुभयो । सांसद रेणुका गुरुङले आफूमाथि असुरक्षा बढ्दै गएको भन्दै सरकारसँग सुरक्षाको माग गर्नुभयो ।
–रासस
