काठमाडाैं । सांसद्हरुले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्नुपर्ने बताएका छन् ।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था समिति बैठकमा नेपाल विशेष सेवा विधेयक, २०७६ माथि सैद्धान्तिक छलफलका क्रममा उनीहरुले प्रधानमन्त्री कार्यालयमा भन्दा गृह मातहत राख्दा अनुसन्धान विभागको काम प्रभावकारी हुने बताएका हुन् ।
बैठकमा सांसद् नवराज सिलवालले गृह मन्त्रालयबाट नै सुरक्षा निकायको व्यसायिकताको बुझाईमा प्रभावकारी हुने भएकाले अनुसन्धान विभागलाई गृहमन्त्रालय मातहत ल्याउनुपर्ने बताउनुभयो । अनुसन्धान विभागमा योग्य व्यक्ति ल्याउनका लागि लोक सेवामार्फत भर्ना लिन उचित हुने उहाँकाे सुझाव छ ।
सांसद् गगन थापाले यसअघि विशेष उद्देश्यसाथ अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखेपनि विभागलाई उचित ढंगले सञ्चालन गर्ने क्षमता गृह मन्त्रालयसँग मात्रै रहेको बताउनुभयो । व्यक्तिको गोपनीयतालाई ख्याल गर्दै अनुसन्धानका लागि सूचना संकलनका लागि अदालतसँग अनुमति माग्नुपर्ने प्रावधानलाई राख्नुपर्ने बताउनुभयाे ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले विधेयकमाथिको छलफलका क्रममा आएका संशोधन र सुझावहरुलाई आवश्यकता अनुसार कानुनमा राखिने बताउनुभयो । उहाँले सुरक्षाका विषयका कानुनलाई छिटो छलफल गरेर पारित गर्न आग्रह गर्नुभयो ।
यसअघि साउन १३ गते बसेको प्रतिनिधि सभाको बैठकले नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।
