काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि भाेलिदेखि सदनमा छलफल हुने भएकाे छ ।
संघीय संसद् सचिवालयले आज सार्वजनिक गरेकाे भाेलि बस्ने प्रतिनिधि सभा बैठककाे सम्भावित कार्यसूचीमा जबराविरुद्धको महाभियोग प्रस्तावमाथि पनि छलफल हुने उल्लेख छ ।
गत फागुन १ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ सांसद्को हस्ताक्षरसहित संसद् सचिवालय महाअभियोग प्रस्ताव दर्ता भएको थियो । प्रस्ताव दर्ता भएसँगै जबरा निलम्बनमा हुनुहुन्छ । दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा अहिले काम गरिरहनुभएकाे छ ।
प्रतिनिधि सभाले साे प्रस्तावमाथि छलफल गर्न फागुन २२ गते महाभियोग सिफारिस समिति गठन गरेपनि छलफल अगाडि बढ्न सकेको थिएन । गठबन्धनले महाअभियाेग दर्ता गराएपनि अगाडि बढाउन आनाकानी गरिरहेकाे थियाे । प्रमुख प्रतिपक्षी नेकपा एमालेले महाभियाेग प्रस्ताव अगाडि बढाउन सरकारलाई पटक-पटक दबा दिँदै आएकाे थियाे । त्यसपछि मात्रै साे विषय प्रतिनिधि सभाकाे कार्यसूचीमा परेकाे छ ।
जबराविरुद्धको महाभियोग प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तिमा दुई तिहाइ बहुमतबाट पारित हुनुपर्छ । प्रतिनिधि सभामा २ सय ७१ सांसद छन् । त्यसकाे दुईतिहाइ १ सय ८१ हुन्छ । तर, सत्ता गठबन्धनसँग दुई तिहाइ पुग्न सक्दैन । प्रतिनिधि सभामा एमालेका ९८, कांग्रेसका ६३ (२ जना निलम्बित) एकीकृत समाजवादीका २३, जनता समाजवादी पार्टीका १९, लोकतान्त्रिक समाजवादी पार्टीका १३ छन् । राष्ट्रिय जनमोर्चा नेपाल, राप्रपा र नेमकिपाको १-१ जना सांसद् छन् ।
एमालेले सहयाेग गरे मात्र महाअभियाेग प्रस्ताव पारित हुन सक्छ ।
भाेलि बस्ने प्रतिनिधि सभामा सभामुख अग्निप्रसाद सापकाेटाले राष्ट्रपतिकाे कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रकाे व्यहाेरा पढेर सुनाउनुहुने लगायत कार्यसूची पनि छ ।
