काठमाडौं । प्रतिनिधि सभाकाे बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने प्रतिनिधि बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
गत फागुन १ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसद्को हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता भएको थियो प्रस्ताव दर्ता भएकाे थियाे । त्यसपछि जबरा निलम्बनमा हुनुहुन्छ । दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा अहिले काम गरिरहनुभएकाे छ ।
प्रतिनिधि सभाले साे प्रस्तावमाथि छलफल गर्न फागुन २२ गते महाभियोग सिफारिस समिति गठन गरेपनि छलफल अगाडि बढ्न सकेको थिएन । गठबन्धनले महाअभियाेग दर्ता गराएपनि अगाडि बढाउन आनाकानी गरिरहेकाे थियाे । प्रमुख प्रतिपक्षी नेकपा एमालेले महाभियाेग प्रस्ताव अगाडि बढाउन सरकारलाई पटक-पटक दबाब दिँदै आएकाे थियाे । त्यसपछि मात्रै साे विषय प्रतिनिधि सभाकाे कार्यसूचीमा परेकाे छ ।
जबराविरुद्धको महाभियोग प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तिमा दुई तिहाइ बहुमतबाट पारित हुनुपर्छ । प्रतिनिधि सभामा २ सय ७१ सांसद छन् । त्यसकाे दुईतिहाइ १ सय ८१ हुन्छ ।
यद्यपि, सत्ता गठबन्धनसँग दुई तिहाइ पुग्न सक्दैन । प्रतिनिधि सभामा एमालेका ९८, कांग्रेसका ६३ (२ जना निलम्बित) एकीकृत समाजवादीका २३, जनता समाजवादी पार्टीका १९, लोकतान्त्रिक समाजवादी पार्टीका १३ छन् । राष्ट्रिय जनमोर्चा नेपाल, राप्रपा र नेमकिपाको १-१ जना सांसद् छन् । एमालेले सहयाेग गरे मात्र महाअभियाेग प्रस्ताव पारित हुन सक्छ ।
बैठककाे सुरुमा सभामुख अग्निप्रसाद सापकाेटाले राष्ट्रपतिकाे कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रकाे व्यहाेरा पढेर सुनाउनुहुने सम्भावि कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
