काठमाडाैं । नेकपा एमालेका सांसद् शेरबहादुर तामाङले गाँजा खेतीसम्बन्धी विधेयक तत्काल अगाडि बढाउन सरकारसँग माग गर्नुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् तामाङले साे विधेयक धेरै अगाडि आफूले सदनमा दर्ता गराएकाे भन्दै त्यसलाई छलफलमा ल्याउन माग गर्नुभयाे ।
उहाँले भन्नुभयाे - 'गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक याे संसद्मा धेरै अगाडि दर्ता भएकाे छ,मैले नै दर्ता गराएकाे थिएँ,यसलाई छलफलमा ल्याइयाेस्,म पनि सांसद् हूँ भनेर फेरि परिचय दिन नपराेस् ।' सांसद् तामाङले दर्ता गर्नुभएकाे साे विधेयक गैरसरकारी विधेयक हाे ।
उहाँले अविरल वर्षाका कारण सिन्धुपाल्चोकका विभिन्न ठाउँमा पहिराे गएकाे र घरहरु जाेखिममा रहेकाे भन्दै साे विषयमा पनि सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । मेलम्ची नगरपालिका-२ मा भिषण पहिराे जाँदा बाटाे अवरुद्ध भएकाे र डाँडाघरे टोल र सिरानटोलका ३० घर जोखिममा रहेको सांसद् तामाङले बताउनुभयाे ।
मेलम्ची नदीमा आएको बाढीबाट हेलम्बु गाउँपालिकाका ६ ठाउँमा बाटोमा क्षति पुग्दा सम्पर्क टुटेको भन्दै उहाँले विपद प्रतिकार्य केन्द्रीय समिति मार्फत बाटो खोल्ने कुरामा छिटो ध्यान दिन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
