काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवालीले गठबन्धन सरकारले सरकार सञ्चालनका सबै मूल्य मान्यतालाई ध्वस्त बनाएको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै ज्ञवालीले अर्थ मन्त्रालयमा भएका पछिल्ला गतिविधिले सो मन्त्रालयमा कुनै पनि सचिव नै जान नमान्ने अवस्था आएको बताउनुभयो । ‘अर्थ मन्त्रालयमा कर्मचारीको भागाभागको अवस्था आएको छ’, ज्ञवालीले भन्नुभयो । यस्तो गतिविधि हुँदा पनि प्रधानमन्त्रीलाई नछोएको भन्दै उहाँले आलोचना गर्नुभयो । अर्थमन्त्रीको बारेमा छानबिन गर्न गठन भएको संसदीय समितिलाई छानबिन नै गर्न नदिएर उहाँलाई चोख्याउने काम गरेको कारण यो अवस्था आएको उहाँले बताउनुभयो । भारतीय आयल कर्पोरेसनले मूल्य घटाएर पठाउँदा पनि नेपाल आयले निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै उहाँले आलोचना गर्नुभयो । ज्ञवालीले तत्काल मूल्य घटाउन माग गर्नुभयो । आयल निगमलाई असफल बनाएर योजनाबद्ध रूपमा सरकार त्यसलाई निजीकरण गर्ने तर्फ लागेको ज्ञवालीले बताउनुभयो । सरकार कामचलाउ भएको अवस्थामा संसद्को बैठक बोलाएर विधेयक ल्याउन नमिल्ने उहाँले बताउनुभयो । अब सरकारले नियमित सरकारको जस्तो विजनेस दिएर सदन चलाउन नमिल्ने उहाँको धारणा छ । विप्लव लगायतका नेता विरुद्ध पक्राउ पुर्जी जारी गर्नु पनि गलत भएको उहाँले बताउनुभयो । ज्ञवालीले सरकाको विप्लवलाई देखाएर चुनाव कब्जा गर्ने दाउ त होइन ? भन्दै प्रश्न गर्नुभयो । ‘के फेरी पनि विप्लवलाई बम पड्काउन जाऊ भनेको हो ?’, उहाँले सरकारसँग प्रश्न गर्नुभयो । नेपाल सधैँ एक चीन नीतिको पक्षमा रहेको र रहनु पर्ने बताउँदै ज्ञवालीले यस विषयमा कुनै अन्तर्राष्ट्रिय शक्तिको पछाडि लाग्न नहुने बताउनुभयो । अमेरिकाबाट ताइवानमा पछिल्लो समय भएका गतिविधिको उहाँले आलोचना गर्नुभयो ।
अर्थ मन्त्रालयका कर्मचारीको भागाभाग छ : प्रदीप ज्ञवाली
काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवालीले गठबन्धन सरकारले सरकार सञ्चालनका सबै मूल्य मान्यतालाई ध्वस्त बनाएको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकको...
SUNRISE KHABAR
1 min read
