काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद् दुर्गा पौडेलले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सरकारकाे ध्यानाकर्षण गराउनु भएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकको बिशेष समयमा बोल्दै सांसद् पौडेलले प्रवासी नेपालीकाे मतदानकाे अधिकार सुनिश्चित गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । प्रवासी नेपालीको मतदानको अधिकारकाे सन्दर्भमा धेरै लामाे समयदेखि छलफल चलिरहेकाे र सर्वाेच्च अदालतले निर्देशन गरेकाे पनि धेरै वर्ष भइसकेकाे पाैडेलले स्मरण गराउनुभयाे ।
'सर्वोच्च अदालतले निर्देशन दिएकाे पनि वर्षौं भइसकेको छ, निर्वाचन अयाोगले पनि प्रवासी नेपालीहरूलाई अधिकारको विषयलाई उल्लेख गरेको अवस्था छ, आमनिर्वाचन घोषणा भइसक्दा पनि कुनै व्यवस्थापन भएको छैन, यो व्यवस्थालाई हेर्दा लाखौँ प्रवासमा बस्ने नेपालीहरूको मतदान अधिकार कुण्ठित भएको छ,त्यसैले याे विषयमा सरकार गम्भीर हुन जरुरी छ'-पाैडेलले भन्नुभयाे ।
