काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे मिति घाेषणा भएसँगै सरकार कामचलाउ भएकाे बताएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै एमाले सांसद् प्रदीप ज्ञवालीले कामचलाउ सरकारले सदनलाई बिजनेज दिन नमिल्ने बताउनुभयाे । उहाँले प्रश्न गर्नुभयाे - 'चुनावकाे मिति घाेषणा भइसकेपछि सरकार काम चलाउमा रुपान्तरण भयाे,काम चलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ र सभामुख महोदय ? बिजनेस दिने नयाँ विधेयक दर्ता गर्ने र त्यसमा छलफल गर्ने स्थिति बन्छ ?'
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरूद्धको महाभियोग प्रस्ताव अगाडि बढाउन सरकारले गरेको ढिलाइप्रति उहाँले आपत्ति जनाउनुभयाे । एमाले उपमहासचिव समेत रहनुभएका सांसद् ज्ञवालीले अमुक व्यक्तिलाई जसरी पनि निलम्बन गर्ने सरकारकाे नियत देखिएकाे बताउनुभयाे । जबराविरूद्ध राजनीतिक प्रतिशोध साध्न महाभियोग प्रस्ताव ल्याइएको पनि उहाँले बताउनुभयाे ।
सांसद् ज्ञवालीले फागुनमै दर्ता भएकाे महाभियाेगलाई ३ महिनामै छिनाेफानाे गर्नुपर्नेमा सरकारले राजनीतिक प्रतिशोध साध्न यसमा ढिलाइ गरेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'दिनभर त यो सरकार सुतेर बस्यो, अब सदनले तीन महिना पाउँछ कि पाउँदैन् ? समिति गठन भएको ३ महिना हो कि बिजनेस दिएपछि यो गम्भीर प्रश्न हो, सरकारकाे नियत के देखियाे भने जसरी पनि अमुक व्यक्तिलाई निलम्बन गर्ने, उनी महाभियोगको भागिदार हुन् भने हामीले धेरै पटक भनेका छाैं गहिराे छानबिन गराैं र महाभियाेग लगाएर हटाऔं हाेइन भने याे ढंगले यसरी झुण्ड्याउन मिल्दैन, तर सरकार एकदमै राजनीतिक प्रतिशाेधका आधारमा याे सदनमा ल्याएन,अब सदनकाे बिजनेस सकिने बेलामा याे ल्याएर हामीले न्याय गर्दैछाैं ? के भाेलि हामीले यस्ता प्रश्नकाे जवाफ दिनुपर्दैन ?'
सरकारले अब नियमित सरकारले जस्ताे बिजनेस दिएर सदन चलाउन नमिल्ने पनि सांसद् ज्ञवालीले बताउनुभयाे ।
