काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन सरकारसँग माग गरेकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै एमाले सांसद् प्रदीप ज्ञवालीले पेट्राेलियम पदार्थकाे भाउ तत्काल घटाउन सरकारसँग माग गर्नुभयाे भारतबाट दुई पटक पेट्रोलिय पदार्थको मूल्य घट्दा पनि नेपालमा नघटाएको भन्दै उहाँले कडा आपत्ति जनाउनुभयाे ।
सांसद् ज्ञवालीले भन्नुभयाे - 'भारतीय आयल निगमले २ पटक मूल्य घटाएर पठाएकाे छ, तर सरकारले मूल्य घटाएकाे छैन, ३१ रुपैयाँ घटेर आए पनि उपभोक्ताले मंहगैमा पेट्राेलियम पदार्थ किन्नुपरेकाे छ,नाफा हुँदा नाफा जति आयल निगमको पोल्टामा घाटा हुँदा त्यसको भार उपभोक्ताकामा, यो कहाँको न्याय हो, सभामुख महोदय ? म गम्भीरतापूर्वक सरकारले तत्काल पेट्राेलियमकाे पदार्थ घटाएर उपभाेक्ता र आम नागरिकलाई राहत दिनुपर्छ,सरकार भएकाे अनुभूति गराउनुपर्छ । '
सरकारले तत्काल भाउ नघटाए बजार हल्ला साँचाे भएकाे पुष्टि हुने उहाँकाे ठहर छ । आयल निगमलाई विवादित बनाउन सरकारले पेट्राेलियम पदार्थकाे मूल्य नघटाएको पनि सांसद् ज्ञवालीले बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'अन्यथा के कुरा प्रमाणित हुन्छ भने आयल निगमलाई विवादित बनाउने, निगमप्रति जनताकाे आक्राेश बढाउँदै जाने, त्यसकाे ठाउँमा प्राइभेट फर्म खाेल्ने जसका निम्ति लेनदेन भइसकेका कुरा बजारमा आइसकेका छन्,त्यसपछि निगमले सुलभ दरमा पेट्राेलियम पदार्थ उपलब्ध गराउन सकेन भनेर केही व्यापारीलाई पाेस्ने प्रयाेजनका लागि सचेतन ढंगले सरकारले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे छैन ।'
