काठमाडाैं । नेकपा एमालेकी सांसद् दिलकुमारी रावल थापा (पार्वती) ले पेट्राेलियम पदार्थकाे भाउ तत्काल घटाउन सरकारसँग माग गर्नुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् रावलले भारतबाट २ पटक इन्धनकाे भाउ घटेर आउँदा पनि सरकारले मूल्य समायाेजन नगरेकाे भन्दै आपत्ति जनाउनुभयाे ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनकाे भाउ घट्दा र बढ्दा नेपालमा मूल्य समायाेजन हुने सामान्य नियम रहेकाे भन्दै उहाँले अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्दा बढाइहाल्ने तर घट्दा नघटाउने नियत सरकारले देखाएकाे उहाँले बताउनुभयाे ।
पेट्राेलियम लगायत दैनिक उपभाेग्य वस्तुकाे दशककै चर्काे मूल्यवृद्धिकाे मारमा जनता पर्दा पनि सरकारले अनदेखा गरेर बसेकाे भन्दै सांसद् रावलले आपत्ति जनाउनुभयाे । इन्धनकाे मूल्यवृद्धिकाे असर सिधै जनताकाे भान्सामा पर्छ भन्ने कुरामा सरकार गम्भीर हुन नसकेकाे सांसद् रावलले बताउनुभयाे ।
भारतीय आयल निगम कर्पाेरेशनले २ पटक इन्धनकाे भाउ घटाएर पठाउँदा पनि सरकारले मूल्य समायाेजन नगरेकाे भन्दै उहाँले कडा आपत्ति जनाउनुभयाे । उहाँले भन्नुभयाे - 'नेपाली बजारमा इन्धनकाे मूल्य नघटाउनुमा सरकारकाे के उद्देश्य छ ? आज आयल निगमप्रति जनआक्राेश बढेकाे छ, कतै यहि बहानामा आयल निगमलाई विघटन गरी केही घरानियाका निजी कम्पनीमार्फत इन्धन वितरण गर्ने सरकारकाे दुषित मनशाय त छैन ? इन्धनमा बढेकाे मूल्यवृद्धिले हुनेखानेलाई त असर नगर्ला तर हुँदा खाने जाे श्रमजिवि वर्ग छ ती तमाम नागरिककाे हितलाई हेरेर तत्काल इन्धनकाे भाउ घटाउन सरकारसँग माग गर्दछु ।'
गठबन्धन सरकार देश र जनताप्रति गम्भीर हुन नसकेकाे सांसद् रावलले बताउनुभयाे । गठबन्धन सरकारकाे ध्यान देश र जनतामा नभएर सत्ता स्वार्थ पूरा गर्नतर्फ रहेकाे बताउँदै उहाँले भन्नुभयाे - ' गठबन्धन सरकार जनताकाे पीरमर्का, चासाे सराेकार र समस्याप्रति गम्भीर छैन, छ त केबल गठबन्धन जाेगाउन सत्ता स्वार्थ पूरा गर्न, कुशासन र भ्रष्टाचारलाई संस्थागत गर्न व्यस्त छ, आज भनसुन र कमिशनबिना कुनै काम नहुने अवस्था छ ।'
सरकारले ढिलाेगरी भएपनि प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे मिति घाेषणा गरेकाे भन्दै उहाँले धन्यवाद दिनुभयाे ठ। चुनाव सार्ने षड्यन्त्र हुन नदिन उहाँले सरकारलाई चेतावनी दिनुभयाे । स्वच्छ र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्ने वातावरण बनाउन,विद्युतीय भाेटिङ मेसिनकाे व्यवस्था गर्न, चपाउन नमिल्ने मतपत्र तयार पार्नतर्फ ध्यान दिन सांसद् रावलले निर्वाचन आयाेगलाई सुझाव पनि दिनुभयाे ।
महिला पहिला भन्ने नाराकाे गठबन्धनले धज्जी उडाएकाे पनि उहाँले बताउनुभयाे । संविधानकाे धारा ३८ काे उपधारा ४ काे पूर्ण कार्यान्वयन गर्न उहाँले सरकारकाे गम्भीर ध्यानाकर्षण गराउनुभयाे । साे धारालाई आम चुनावमा कुण्ठित नगर्न सांसद् रावलले चेतावनी दिनुभयाे ।
निर्वाचन निक्कै खर्चिलाे भएकाे भन्दै सांसद् रावलले निर्वाचनसम्बन्धी कानुन संशाेधन गर्न सरकारसँग माग गर्नुभयाे । दल विभाजन गर्न रातारात अध्यादेश ल्याउने सरकारले निर्वाचन प्रणाली सुधार गर्नतर्फ ध्यान नदिएकाे उहाँले बताउनुभयाे । फास्ट ट्रयाकबाट निर्वाचनसम्बन्धी कानुन संशाेधन गर्न सांसद् रावलले सरकारसँग माग गर्नुभयाे ।
अर्थमन्त्रालयमा कर्मचारी भागाभाग हुनुले जेठ १४ काे घटना सही थियाे भन्ने पुष्टि गरेकाे उहाँकाे भनाइ छ । काम चलाउ सरकारले कर्मचारी सरुवा बढुवा गरेकाे भन्दै उहाँले यसाे नगर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
