काठमाडौं । राष्ट्रिय सभामा तीन वटा प्रतिवेदन पेस भएका छन् ।
साेमबार बसेकाे राष्ट्रिय सभा बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, २०७७-७८, राष्ट्रिय महिला आयोगको १४ औं वार्षिक प्रतिवेदन, २०७७-७८ र महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन, २०७९ पेस भएकाे हाे ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले ती तीनवटै प्रतिवेदन पेस गर्नुभएकाे हाे ।
बैठकले 'कारागार विधेयक, २०७६ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्' भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधि सभाको सन्देशसहित प्राप्त साे विधेयक गृहमन्त्री बालकृष्ण खाँडले साे समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त प्रमाणीकरण विधेयक पढेर सुनाउनुभयो । प्रमाणीकरण भएको विधेयक ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ हो । साे विधेयक यही साउन १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको थियो ।
राष्ट्रिय सभाको अर्को बैठक साउन २५ गते बुधबार बस्नेगरी स्थगित भएकाे छ ।
