काठमाडाैं । नेकपा माओवादी केन्द्रकी सांसद् गंगाकुमारी बेल्बासेले संवैधानिक परिषद् ७ सदस्यीय हुने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
साेमबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् बेल्बासेले बेल्बासेले संविधान संशोधन गरी संवैधानिक परिषद् ७ सदस्यीय हुने व्यवस्था गर्न सरकारसँग माग गर्नुभयाे । राष्ट्रिय सभाका उपाध्यक्ष समेत सदस्य रहने गरी संवैधानिक परिषद् सात सदस्यीय बनाउनुपर्ने उहाँकाे माग छ ।
प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र उपसभामुख गरी ६ सदस्यीय संवैधानिक परिषद् रहने संवैधानिक व्यवस्था छ ।
अघिल्लाे सरकारले अध्यादेश ल्याएर संवैधानिक परिषद् ३ सदस्यीय हुने गलत निर्णय गरेकाे आराेप सांसद् बेल्वासेले लगाउनुभयाे । 'अघिल्लाे सरकारले प्रतिनिधि सभा विघटन गरेर अध्यादेश ल्याएकाे थियाे, ६ जनाकाे संवैधानिक परिषद्लाई ३ जना भए काेरम पुग्ने र २ जना भए बहुमत पुग्ने व्यवस्था गरेकाे थियाे, याे बेठिक छ ।'
संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि राष्ट्रिय सभामा छलफल भइरहेको भन्दै उहाँले ७ सदस्यीय हुने व्यवस्था थप्न सबैकाे एकमत हुनुपर्ने बताउनुभयाे । 'संविधानमा ६ जनाकाे संवैधानिक परिषद् रहने व्यवस्था छ, राष्ट्रिय सभाका उपाध्यक्ष समेत सदस्य रहने गरी संविधान नै संशाेधन गरेर भएपनि संवैधानिक परिषद्लाई ७ सदस्यीय बनाउन म सरकारसँग माग गर्छु'-उहाँले भन्नुभयाे ।
