काठमाडाैं । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले नारायणगढ-मुग्लिन/मुग्लिन-पोखरा सडकखण्डको स्तरोन्नतिको काम तीव्र बनाउन निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको समितिकाे बैठकले साे सडकखण्ड स्तरोन्नतिको कामलाई तीव्र बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । राष्ट्रिय गौरव लगायत अन्य राष्ट्रिय स्तरका सडकहरुको निर्माण तथा स्तरोन्नतिको काममा भइरहेको ढिलासुस्ती तथा न्यून प्रगतिलाई ध्यान दिन पनि समितिले मन्त्रालयकाे ध्यानाकर्षण गराएकाे छ ।
सडक अतिक्रमण गरी बिना स्वीकृति बनाइएका घर तथा सडकमा रहेका विद्यु पोलका कारण सडकमा पहिरो झर्दा तत्काल पन्छाउन जटिल देखिएकाे समितिकाे ठहर छ । सडक सीमाभित्र रहेका त्यस्ता संरचना हटाउने आवश्यक व्यवस्था मिलाउन भौतिक पूर्वाधार मन्त्रालय र उर्जा जलस्राे मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिनुभयो ।
वातावरण मैत्री, प्रविधिमैत्री र गुणस्तरीय निर्माणका लागि विकासको उपयुक्त मोडल अवलम्वन गर्ने काम तत्काल अध्ययन गरी कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिइएकाे पनि उहाँले बताउनुभयो ।
पेट्रोलियम पदार्थको मूल्य समायोजनपछि पनि मनोमानी ढंगले सार्वजनिक यातायातले भाडा असुल्ने काम गरेको पाइएकाले भरपर्दो अनुगमन समिति बनाएर जानकारी गराउन निर्देशन दिइएको सभापति खड्काले जानकारी दिनुभयो ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले वैकल्पिक सहायक राजमार्गको मापदण्ड नै बनाएर कार्यान्वयन गर्ने बताउनुभयो । नारायणघाट–बुटवल सडक निर्माण समयमा नै नभएको भन्दै उहाँले ठेकेदारको म्याद थप नगरेको जानकारी दिनुभयो । नारायणगढ-मुग्लिन/मुग्लिन-पोखरा सडक स्तरोन्नतिको कामलाई तीव्र रुपमा अघि बढाइने दाबी पनि उहाँले गर्नुभयाे ।
बैठकमा समिति सदस्यहरुले चाडपर्व नजिकिँदै जादा मुख्य तथा सहायक राजमार्गहरुलाई चुस्तदुरुस्त राख्नका लागि सडकको प्रभावकारी अनुगमनमार्फत आवश्यक तयारी समयमा नै गर्नुपर्ने सुझाव दिएका थिए ।
