काठमाडौं । नेकपा एमालेका सांसद् पदम गिरीले पर्वत जलजला-७ धाइरिङकाे धारापानीमा भएकाे घटनाका पीडितलाई राहत र राेजगारी दिन सरकारसँग माग गर्नुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे सुरुमै विशेष समय लिएर बाेल्दै सांसद् गिरीले विद्युत् प्राधिकरणको लापरबाहीका कारण १ जनाकाे ज्यान गएकाे र १३ जना स्थानीय घाइते भएका बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'विद्युत् प्राधिकरणको लापरबाही र असावधानीका कारण ११ केभिए प्रसारण विद्युत् गाउँमा प्रवाह हुँदा ५० वर्षीया सीता केसीको मृत्यु भएको छ, १३ जना स्थानीय गम्भीर घाइते भएका छन्, ११ वटा बाख्रा जलेर मरेका छन्,४५ वटा घरमा मिटर बक्स जलेका छन् '
विद्युत् प्राधिकरणको लापरबाही र असावधानीका कारणले साे घटना भएकाे भन्दै सांसद् गिरीले त्यहाँ भएका भाैतिक संरचनामा प्राधिकरणले ध्यान नदिँदा याे समस्या निम्तिएकाे बताउनुभयाे ।
उहाँले सीता केसीकाे परिवारकाे १ जना सदस्यलाई राेजगारीकाे प्रबन्ध मिलाउन सरकारसँग माग गर्नुभयाे । भाैतिक क्षति भएका सबै स्थानीयलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन समेत सांसद् गिरीले माग गर्नुभयाे ।
कुश्मा नगरपालिका-१० पीपलटारीमा ६४ घरधुरी भएको बस्तीमा भूस्खलन भएको भन्दै उहाँले साे बस्ती संरक्षण गर्न सरकारसँग माग गर्नुभयो । भूस्खलनका कारण ६४ मध्ये ५ घरपरिवार त्यहाँबाट विस्थापित भइसकेका भन्दै सांसद् गिरीले उनीहरुलाई तत्काल पुर्नस्थापना गर्न माग गर्नुभयाे ।
