काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सांसद् निरादेवी जैरुले दलित समुदायको नागरिकतामा अपमानजक नाम राख्ने कर्मचारीलाई तत्काल निलम्बन गर्न माग गर्नुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् जैरुले दलित समुदायका नागरिकलाई नागरिकता वितरण गर्दा अपमान गरेर कुकुर, कुकुर्नी जस्ता नाम राख्ने प्रशासकीय अधिकृतहरुलाई तत्काल निलम्बन गर्न माग गर्नुभयाे ।
संविधानमा पछाडि परेका वर्ग र दलितलाई अग्रस्थानमा राख्ने व्यवस्था गरेपनि यसलाई गम्भीर रुपमा नलिएकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । यसलाई गम्भीर रूपमा लिनुपर्ने भन्दै उहाँले सभामुखलाई रुलिङ गर्न समेत माग गर्नुभयाे । ६० लाख दलितको भोटले निर्वाचित हुने सांसद्लाई नागरिकता अपमानजनक शब्द राखेकाे विषयले मरेतुल्य बनाएकाे सांसद् जैरुले बताउनुभयाे ।
गृह मन्त्रालयले त्यसलाई सम्बाेधन गर्नु सकारात्मक भएकाे उहाँलेे बताउनुभयाे । टाेली बनाएर स्थानीय तहसँग समन्वय नगरी ती नागरिकता वितरण गरिएकाे हुन सक्ने सांसद् जैरुले बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'त्यतिबेलाकाे त्याे टिममा भएका प्रशासकीय अधिकृतलाई गैरजिम्मेवार काम गरेकाले तत्काल निलम्बन गर्नुपर्छ, नागरिकता जस्ताे संवेदनशिल विषयमा कुकुर र कुकुर्नी लेख्ने प्रशासकीय अधिकृतलाई गृह मन्त्रालयमा बोलाइयोस् र निलम्बन गरियोस् ।'
सांसद् जैरुले काठमाडौंको फोहोर ४ दिन व्यवस्थापन गर्न नसके बस्न नसक्ने अवस्था आउने पनि बताउनुभयाे ।
