काठमाडाैं । नेकपा एमालेका सांसद् खगराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा संसद्प्रति जवाफदेही नभएकाे बताउनुभएकाे छ ।
आगामी प्रदेश सभा र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन संसदमा पेस गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद् अधिकारीले प्रधानमन्त्री संसद्प्रति जवाफदेही नहुनु दु:खद भएकाे बताउनुभयाे ।
महिनाको २ पटक प्रतिनिधि सभामा उपस्थित भएर एक घण्टाको प्रश्नोत्तर कार्यक्रममा भाग लिने नियमावली भएपनि प्रधानमन्त्री देउवा सो कार्यक्रममा एकपटक पनि सहभागी नभएको उहाँकाे भनाइ छ । 'प्रतिनिधि सभा नियमावलीको परिच्छेद ९ मा महिनाको दुई पटक प्रत्यक्ष प्रधानमन्त्री संसद्मा उपस्थित भएर प्रश्नोत्तर कार्यक्रम गर्नुपर्ने एक घण्टाको समय छ,तर संसद्प्रति सरकार, सत्तापक्ष नै जवाफदेही छँदै छैन सभामुख महोदय,अहिले हामीले राेदन गरेर के हुन्छ ? अनि याे कार्यक्रम कार्यान्वयन हुन्छ ?'-अधिकारीकाे प्रश्न छ ।
सांसद् अधिकारीले महिलाहरूलाई प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवारी बढाउने कुरामा एमाले प्रतिबद्ध रहेकाे पनि बताउनुभयाे । राज्यका हरेक निकायमा महिलाहरुको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउन एमाले निरन्तर लागिरहने प्रतिबद्धता उहाँले जनाउनुभयाे । महिलाहरुलाई अगाडि बढाउने कुरामा एमाले अग्रपंक्तिमा रहेकाे समेत सांसद् अधिकारीले बताउनुभयाे । महिलाकाे प्रतिनिधित्वका लागि पहल गर्ने एक मात्र पार्टी एमाले भएकाे उहाँले स्मरण गराउनुभयाे ।
संसद्काे सदस्य हुँदा ३३ प्रतिशत महिला सहभागिताकाे प्रबन्ध गरेकाे भन्दै उहाँले अहिलेका राष्ट्रपति विद्यादेवी भण्डारीकाे प्रशंसा गर्नुभयाे । महिला भएकै कारण राष्ट्रपतिमाथि हुर्मत लिने काम भएकाे भन्दै उहाँले उहाँले सुरुआत गरेकाे बाटाे हिँड्दा उहाँकाे याेगदान भुल्न नहुने बताउनुभयाे ।
