काठमाडाैं । नेपाली कांग्रेसकी सांसद् रंगमती शाहीले महिलाहरु समानुपातिकका मात्र नभइ प्रत्यक्षबाट चुनाव लड्न सक्षम रहेका बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावको छलफलमा भाग लिदै सांसद् शाहीले महिलाहरु प्रत्यक्षबाट चुनाव लड्न तयार र सक्षम रहेका बताउनुभयाे ।
प्रत्यक्षमा उम्मेदवारी दिँदा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्नेछ भन्ने व्यवस्था कानुनमा नै बाध्यकारी बनाउनुपर्ने उहाँकाे सुझाव छ । सांसद् शाहीले गत स्थानीय तहको चुनावमा सत्तारुढ दलले गठबन्धन गरेर जाँदा महिला उम्मेदवारी अनिवार्य नगरेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे ।
आगामी संघ र प्रदेश सदस्यको चुनावमा प्रत्यक्षमा महिला उम्मेदवार संविधान बमोजिम सुनिश्चित गर्नुपर्ने उहाँकाे माग छ । कानुनले नै बाध्यकारी बनाउने हो भने दलहरूले महिलालाई उम्मेदवार बनाउने शाहीले बताउनुभयाे ।
'संविधानको धारा ३८ को उपधारा ४ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ भन्ने व्यवस्था गरिएको छ, धारा १८ ले समानताको हकको व्यवस्था गरेको छ, तर महिलालाई प्रत्यक्ष उम्मेदवार बनाउने कुरामा दलहरूको व्यवहार आफैँ विभेदपूर्ण छ, अब महिला समानुपातिकमा बसेर सुरक्षित हुने मात्रै होइन, प्रत्यक्ष चुनावमा उम्मेदवार बन्न पनि तयार र सक्षम छन् ।'
