काठमाडाैं । नेकपा एमालेकी सांसद् बिन्दा पाण्डेले एउटा व्यक्ति एउटै निर्वाचन क्षेत्र र एउटै निर्वाचन प्रणालीबाट निरन्तर बढीमा दुई पटक मात्रै उम्मेदवार बन्नसक्ने व्यवस्था गर्नुपर्ने बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा ध्यानाकर्षण प्रस्ताव पेस गर्दै सांसद् पाण्डेले आगामी प्रतिनिधि सभा र प्रदेश सभा चुनावअघि नै त्यस्तो कानुनी व्यवस्था गर्न माग गर्नुभयाे । यदि कोही नेतालाई सांसद् बनाउनै पर्ने भए फरक निर्वाचन प्रणाली र फरक निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउनुपर्ने उहाँकाे सुझाव छ ।
सांसद् पाण्डेले भन्नुभयाे - 'प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक र पहिलो हुने दुवै निर्वाचन प्रणालीअन्तर्गत एउटा व्यक्ति, एउटै निर्वाचन क्षेत्र र एउटै निर्वाचन प्रणालीअन्तर्गत निरन्तर बढीमा २ पटक मात्रै उम्मेदवार हुनसक्ने व्यवस्था गर्नुपर्छऽ अहिलेको कोही आजीवन उम्मेदवार भइरहने र अरु आजीवन कसैको लागि मतदाता मात्रै बन्नुपर्ने अवस्थाको छ, यसको अन्त्य हुनुपर्छ ।'
प्रतिनिधि र प्रदेश सभाको चुनाव अगावै निर्वाचनसम्बन्धी कानुनलाई संशोधन गरेर यी प्रावधान ल्याउनुपर्ने उहाँकाे माग छ ।
