काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देश सहितको ‘तथ्यांक विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस' भनी प्रस्ताव प्रस्तुत गर्नुहने सम्भावित कार्यसूची छ ।
त्यसपछि 'तथ्यांक विधेयक, २०७८' माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । बैठकमा प्रधानमन्त्री देउवाले 'तथ्यांक विधेयक, २०७८' लाई पारित गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा प्रधानमन्त्री देउवाले नै राष्ट्रिय सभाको सन्देश सहितको 'शपथ सम्बन्धी विधेयक, २०७९' माथिको दफावार छलफल सदनमा गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यसपछि 'शपथ सम्बन्धी विधेयक, २०७९' माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । प्रधानमन्त्री देउवाले 'शपथ सम्बन्धी विधेयक, २०७९' लाई पारित गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले 'खानेपानी तथा सरसफाइ विधेयक, २०७७ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देश सहितको 'काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यसपछि सो विधेयक माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री राईले राष्ट्रिय सभाको सन्देश सहितको 'शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस' भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
