काठमाडाैं । नेकपा एमालेका सांसद् महेश बस्नेतले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई तत्काल निलम्बन गर्न सरकारसँग माग गर्नुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् बस्नेतले महान्यायाधिवक्ता खाती विभिन्न मुद्दा दबाउने लगायत विवादमा मुछिएकाले उहाँलाई पदमा बस्ने अधिकार नभएकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'उहाँ(महान्यायाधिवक्ता) नेपाल सरकारको महान्यायाधिवक्ता पदमा बसिरहेको र सरकारवादी मुद्दाको वकालत गर्नुपर्नेमा यस्ता विवादित, यस्ता ठग र अपराधिक व्यक्तिलाई कुनैपनि हालतमा राख्नुहुँदैन, तत्काल प्रधानमन्त्रीले निलम्बन गर्नुहुन माग गर्न चाहन्छु ।'
महान्यायाधीवक्ता खातीमाथि ललितपुरको इमाडोलमा १३ वर्षिया बालिकामाथि भएको बलात्कारको मुद्दा दबाउने भूमिका खेलेको, बुढीगंगा नगरपालिकामा आफ्नो दाजुलाई जिताउन बुथ कब्जादेखि अनेक हर्कत गरेको र बालुवाटार प्रकरणमा सीआइबीले ०७८ पुसमा पेस गरेको फाइल पूरा नभएको भनेर फिर्ता गराउने र त्यसको हदम्याद गुजार्ने काममा लागेको आराेप लागेकाे उहाँकाे भनाइ छ ।
सांसद् बस्नेतले खातीमाथि बलात्कारका आरोपी सिद्धबाबालाई जोगाउन लागेको, ज्यान मार्ने उद्योगमा कांग्रेसका कार्यकर्ता जसले आफ्नो नेतालाई आक्रमण गरेकाे छ, उसका मुद्दा फिर्ता लिने काममा लागेको, पप गायक योगेश अमात्यको बारामा रहेको १२ बिगाहा जग्गा नक्कली पुर्जा बनाएर सघाएको र कुमारी बैंकमा कर्मचारी मिलेर संगठित ठगी प्रकरणमा लागेको आराेप लागेकाे पनि बताउनुभयाे ।
यस्ता विभिन्न प्रकरणमा मुछिएकाले खातीलाई निलम्बन गर्नुपर्ने महेशले बताउनुभयाे ।
