काठमाडाैं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रतिनिधि सभाको कार्यावधिसम्बन्धी ऐन तत्काल ल्याउन सरकारसँग माग गर्नुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् गुरुङले प्रतिनिधि सभाको कार्यकाल ५ वर्ष पुग्नुअगावै हुन लागेको निर्वाचन कार्यतालिकाका लागि ऐन आवश्यक रहेको बताउनुभयाे ।
प्रतिनिधि सभाको रिक्तताको परिकल्पना नगरिएको भन्दै उहाँले छिट्टै ऐन ल्याउन माग गर्नुभयाे । अहिलेकाे परिस्थितिले रिक्तताकाे अवस्था आउने भन्दै गुरुङले यसबाट देशमा गम्भीर संकट आउने बताउनुभयाे ।
'प्रतिनिधि सभाको कार्यकाल ५ वर्ष भनेर संविधानको धारा ८५ (१) ले भनेको छ, सर्वोच्च अदालतको २-२ पटकको आदेशबाट पनि पाँच वर्ष घटाउन नपाउने भनेको छ, यो मध्यावधि निर्वाचन पनि होइन, ७६ (५) को सरकार विफल भएर घोषणा भएको पनि होइन, त्यसकारण निर्वाचनको कार्यतालिकाको सन्दर्भमा एउटा ऐनको जरुरी पर्छ, कार्यावधिको सन्दर्भमा पनि ऐनको जरुरी पर्छ, त्यसैले छिटो भन्दा छिटो ऐन ल्याओस्'- उहाँकाे भनाइ छ ।
