काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयाेजनाकाे निश्चित परिभाषा, अर्थ र महत्त्व हुनुपर्ने बताउनुभएकाे छ ।
बुधबार बसेकाे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बाेल्दै अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री,मन्त्री र नेतालाई मन पर्दैमा त्यसलाई राष्ट्रिय गाैरवकाे आयाेजनामा राख्न नहुने बताउनुभयाे ।
प्रधानमन्त्री, मन्त्री वा र सरकारको पहुँचमा रहेका नेताहरुलाई मन परेको योजनालाई राष्ट्रिय गौरवका आयोजना बनाउन नहुने उहाँले बताउनुभयाे । अध्यक्ष तिमिल्सिनाले भन्नुभयाे -'राष्ट्रिय गौरवका आयोजना भनेर भनिरहँदा राष्ट्रिय गौरवका आयोजनाको निश्चित परिभाषा र निश्चित अर्थ, महत्व हुनुपर्छ। प्रधानमन्त्रीलाई कहिले मन लाग्यो-यो राष्ट्रिय आयोजनामा राखौँ, अर्थ मन्त्रीलाई मन लाग्यो-यो राष्ट्रिय आयोजनामा राखौँ, अरु मन्त्री, सरकारमा पहुँच हुने नेताले भनेर राख्ने भन्ने हुनुहुँदैन ।'
राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्ने भन्दै अध्यक्ष तिमिल्सिनाले आयोजना तोकिएको समयमै नसकिँदा लाभ लिनबाट वञ्चित हुनुपरेको बताउनुभयाे । आयोजना ढिलो हुँदा लागत बढ्दै जाने उहाँकाे भनाइ छ ।
