काठमाडाैं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद् प्रेम सुवालले अहिलेकाे सरकार जनताकाे सरकार नभएकाे बताउनुभयाे ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा तथ्यांक विधेयकमाथि संशाेधन प्रस्ताव पेस गर्दै सांसद् सुवालले जनताकाे सरकार बलियाे हुने बताउनुभयाे । अहिलेकाे सरकार निक्कै कमजाेर सरकार भएकाले याे सरकार जनताकाे हाे कि विदेशीकाे हाे भन्ने प्रश्न उठेकाे बताउनुभयाे ।
'जनताकाे सरकार भए बलियाे हुन्छ, अब याे सरकार नेपाली जनताकाे हाे कि कुनै विदेशीकाे भन्ने प्रश्न उठेकाे छ,याे तथ्यांककाे विषयमा कुनै बन्दाेबस्त छैन,सारा युवालाई विदेश पठाएकाे छ,युवालाई विदेश पठाएर कुन देश विकास भएकाे छ ?'- सुवालकाे प्रश्न छ ।
कृषि,स्वास्थ्य, शिक्षा,उर्जा कुनै पनि क्षेत्रमा सरकारसँग सहि तथ्यांक नभएकाे उहाँले दाबी गर्नुभयाे । सरकारी स्तरमा तथ्यांककाे बन्दाेबस्त नहुँदा निजी क्षेत्रसँग नै गुहार्नुपरेकाे समाचार सार्वजनिक भएकाे सांसद् सुवालले बताउनुभयाे । सरकार भन्दा निजी क्षेत्र बलियाे भयाे भने सरकारकाे औचित्य नहुने उहाँकाे भनाइ छ ।
'सिंहदरबारमा मन्त्रीहरुलाई गाडी,आवास सबै छ, खानाका पकाउनेखि सबै बन्दाेबस् छ,जनतालाई त्यस्ताे छैन, तर सरकारसँग तथ्यांक छैन, आज चामल किन भारतबाट ल्याउनुपर्थ्याे ? सरकारकाे तथ्यांक भइदिएकाे भए यत्तिकाे कृषि क्षेत्र छ, आज ग्यास किन बाेक्नुपरेकाे छ बिजुली छ नि, सरकारसँग कति नदीनाला छ छ कति बिजुली आउँछ थाहा छैन, निजी जलस्राेत कम्पनीसँग साेध्नुस् त हामीसँग यति नदीनाला छ यति बिजुली आउँछ सबै भन्छ,फेरि पश्चिम सेती भारतीय कम्पनीलाई,त्यसकारण सरकार कमजाेर छ'-सुवालले भन्नुभयाे ।
सरकारले काम गर्नेलाई गर्न नदिएकाे भन्दै उहाँले खाेप विश्वविद्यालय अगाडि बढाउन भनेर पटकपटक ध्यानाकर्षण गराउँदा पनि अगाडि नबढेकाे बताउनुभयाे । सरकारले जनताकाे विश्वविद्यालय नबढाएकाे बताउँदै सुवालले भन्नुभयाे - 'जनताकाे भए त अघि बढ्थ्याे नि,हाम्राे विश्वविद्यालय बनाइदे भनेर विदेशी गुहार्ने, प्रधानमन्त्री बनाइदेउ भनेर विदेशमा जाने,यस्ताे पनि हुन्छ ।'
स्वास्थ्य बीमा कार्यक्रम निजीकरण गर्न खाेजिएकाे भन्दै सुवालले आपत्ति जनाउनुभयाे । सरकारसँग शिक्षाकाे, स्वास्थ्यकाे,कृषिकाे तथा कुनै पनि क्षेत्रकाे तथ्यांक नभएकाे उहाँकाे ठहर छ ।
