काठमाडाैं । नेकपा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता खिमलाल भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण नेपाल र नेपाली जनताको शीर निहुरिएको बताउनुभएकाे छ ।
बुधबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् भट्टराईले माओवादी अध्यक्ष प्रचण्डले जापान भ्रमणको क्रममा दिएको अभिव्यक्तिले नेपाल राष्ट्र र नेपाली जनताको शीर निहुरिएको बताउनुभयाे ।
नेपालमा एक पटक पनि नआएका जापानका तत्कालीन प्रधानमन्त्री सिन्जु आबे नेपालमा आएको बेला २-३ पटक दुई मुलुकको हितको विषयमा कुरा भएको भनेर प्रचण्डले झुट बाेलेकाे उहाँकाे भनाइ छ । भारत जानुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलाई भेट्छु भनेर भन्ने र अन्तिम भेट्न नसकेर लुथ्रुक परेर आउने काम प्रचण्डले गरेकाे सांसद् भट्टराईले बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'गठबन्धन भित्रका एक जना सिनियर नेता जापान भ्रमण जानु भयो, जापान भ्रमणमा उहाँले शानका साथ भन्नु भयो- पूर्व प्रधानमन्त्री जसकाे अस्ती भर्खरै हत्या गरिएकाे छ, सिन्जाे आबे नेपाल आएको बेलामा २-२ पटक उहाँसँग कुरा भएको छ, नेपालका आपसी हितको बारे २-३ पटक कुरा भएको छ विकास निर्माणको बारेमा, गौरवसाथ उहाँले भन्नुभयो जबकि सिन्जु आबे नेपाल आउनु भएकै थिएन, यस्तो खालको यो हल्का प्रस्तुतीले, हल्का टिप्पणीले के हुन्छ यो ?'
देशकाे प्रतिनिधित्व गरेर विदेश भ्रमणमा जाँदा देशकै शीर निहुरिनेगरी हल्का टिप्पणी गर्नु दु:खद भएकाे उहाँले बताउनुभयाे । सांसद् भट्टराईले भन्नुभयाे - 'एउटा सिनियर नेता, देशको जिम्मा लिएको भनौं यत्रो सत्ता गठबन्धन छ हामी चलाएको छौं भनिएको छ, तर यस्तो हल्का प्रस्तुति ? यस्तो हल्का टिप्पणी ? यस्तो हल्का तयारी यो के हो यो ? देश चल्छ ? लोकतन्त्र बलियो हुन्छ, गणतन्त्र चलाउने, संघीयता चलाउने, बलियो बनाउने यस्तै तरिकाले हो ? देशको जिम्मा लिनु भनेको ? यसप्रति मेरो टिप्पणी छ, आलोचना छ, यस्तो नगरौं, यसले देशलाई हल्का बनाउँछ, जनताको शीर निहुँर्याउँछ ।'
जनताकाे ढाड सेकिनेगरी पेट्राेलिय पदार्थ लगायत दैनिक उपभाेग्य वस्तुकाे मूल्य बढेकाे उहाँले बताउनुभयाे । सरकार भएपनि जनताकाे दु:ख देख्न र सुन्न नसकेकाे सांसद् भट्टराईले बताउनुभयाे । मूल्यवृद्धिले आहात भएका जनतालाई सुन्न र देख्न नसकेको भन्दै उहाँले कडा आलाेचना गर्नुभयाे । सरकारलाई देश र जनताकाे चिन्ता नभएर सत्ता जाेगाउने मात्र चिन्ता भएकाे उहाँकाे भनाइ छ ।
एसपीपीमा सहभागी हुँदैनाैं भनेर अमेरिकालाई पठाइएकाे पत्र सार्वजनिक गर्न पनि सांसद् भट्टराईले सरकारसँग माग गर्नुभयाे । सीसीटिभी फुटेजजस्तै हालत पत्रकाे नहाेस् भनेर उहाँले सरकारलाई सचेत पनि गराउनुभयाे ।
संवैधानिक व्यवस्था अनुसार चुनाव घाेषणा भएकाे भन्दै उहाँले धाँधलीरहित चुनाव गर्न सरकारलाई चुनाैति दिनुभयाे । एमालेकाे चिन्ता देश, जनता, लाेकतन्त्र,गणतन्त्र र संघीयताप्रति रहेकाे सांसद् भट्टराईले प्रष्ट पार्नुभयाे ।
