काठमाडौं । प्रतिनिधि सभाकाे बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले 'अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक, २०७५ माथि छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
त्यसपछि मन्त्री शर्माले 'बीमा विधेयक, २०७९ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ । साे विधेयक ०७५ असार २७ गते दर्ता भएकाे थियाे ।
बैठकमा राष्ट्रिय सभाको सन्देश सहितको 'काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६' को दफाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देश सहितको 'शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
बैठकमा उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय सभाको सन्देश सहितको 'स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यसपछि 'स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८' माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि मन्त्री बडूले 'स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
मन्त्री बडूले राष्ट्रिय सभाको सन्देश सहितको 'प्रत्यायन विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ । त्यसपछि 'प्रत्यायन विधेयक, २०७८' माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । मन्त्री बडूले 'प्रत्यायन विधेयक, २०७८ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
