काठमाडाैं । नेकपा एमालेका सांसद् याेगेश भट्टराईले काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई गठबन्धन सरकारकाे भर नपर्न आग्रह गर्नुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकको शून्य समयमा बाेल्दै सांसद् भट्टराईले काठमाडाैंकाे फाेहाेर व्यवस्थापनका लागि ठाेस याेजना लिएर एमालेसँग सहकार्यय गर्न आग्रह गर्नुभयाे । ७१ दिनसम्म काठमाडाैं फाेहाेर नउठेर काठमाडाैं डुङ्डुङ् गनाउँदा पनि सरकारले नदेखेजस्तै गरेकाे उहाँले बताउनुभयाे ।
काठमाडौंमा फोहर नउठेको ७१ दिन हुँदा पनि प्रधानमन्त्रीले कुनै पहल नगरेको र मन्त्रीहरू बेखबर रहेको भन्दै सांसद् भट्टराईले फोहर उठाउन सरकारको हुती नभएको बताउनुभयाे ।
एमालेसँग स्पष्ट भिजन र दृष्टिकाेण भएकाे भन्दै उहाँले मेयर शाहलाई ठाेस याेजना लिएर आए सहयाेग गर्न एमाले तयार रहेकाे बताउनुभयाे । सरकार जनताकाे स्वास्थ्यप्रति गम्भीर नभएकाे भन्दै सांसद् भट्टराईले सरकारकाे भर परे असफल हुने निश्चित भएकाे भन्दै शाहलाई सचेत गराउनुभयाे ।
उहाँले भन्नुभयाे - 'काठमाडौं फोहोरले डुङडुङ गन्हाउने भइसक्दा पनि सरकारले कुनै पहलकदमी गर्न सक्दैन, यो सरकारसँग हुती पनि छैन,म याे सरकारकाे ध्यानाकर्षण गराउन चाहान्नँ, म बालेन शाहलाई भन्न चाहन्छु- ठोस प्रस्तावसहित आउनुस्, एमालेसँग त्यो भिजन र दृष्टिकोण छ, एमाले पूर्ण क्षमतासाथ सहयोग गर्न तयार छ, यदि तपाईं सरकारको भर पर्नुभयो भने असफल हुने निश्चित छ ।'
सबै मिलेर सांस्कृतिक शहर काठमाडाैंकाे रक्षा गर्नुपर्ने नि सांसद् भट्टराईले बताउनुभयाे ।
