काठमाडौं । नेकपा एमालेकी सांसद् निरु पालले निहारिका राजपूत, निर्मला पन्त लगायत घटनामा सरकारकाे गम्भीर ध्यानाकर्षण गराउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् निहारिकाले अभियुक्त शिवराज श्रेष्ठसँगको डीएनए टेस्टको माग गर्दा सरकारले किन वेवास्ता गरेकाे भन्दै प्रश्न उठाउनुभयाे ।
नारीको अस्मितालाई खेलौनाका रूपमा हेरिरहेको समाजमा हिम्मत गरेर अगाडि बढिरहेकी निहारिकाकाे मागलाई सरकारले नदेखेझैं गर्नु दु:खद भएकाे उहाँले बताउनुभयाे । सांसद् पालले भन्नुभयाे - 'आफूमाथि भएकाे बलात्कार र बलात्कारबाट जन्मिएको सन्तान दुबैकाे न्यायका लागि निहारिकाले पटक-पटक अनशनसँगै र आत्महत्याको प्रयाससमेत गरेकी छिन्,जनताकाे सरकार भएकाे भए उनले न्याय पाउनुपर्ने हाे तर याे परमादेशबाट जन्मिएकाे सरकार हाे भन्ने कुरा यी र यस्तै घटनाले प्रमाणित र पुष्टि भइसकेकाे छ ।'
सामाजिक सञ्जालमा आएका प्रमाणहरू को दोषी भन्ने प्रमाणित भइसक्दा उनको मागअनुसार डीएनए परीक्षण नहुनु दु:खद भएकाे पालले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'सामाजिक सञ्जालमा आएका प्रमाणसहित सर्वसाधारणले समेत दाेषी पत्ता लगाइसकेकाे बेला पनि बलात्कार जस्ताे जघन्य अपराधका दाेषीले अझै उन्मुक्ति पाइरहनु र पीडित अझ पीडित हुनु हाम्राे कस्ताे न्याय प्रणाली हाे सरकार ? निहारिकाकाे बच्चालाई कसले न्याय दिने ?'
अपराध गर्नेहरुले उन्मुक्ति पाइरहने हाे भने हाम्राे समाजले सयाैं निहारिकाहरु बनाइराख्ने चेतावनी दिँदै पालले प्रश्न गर्नुभयाे - 'निहारिका र निर्मलाहरु जस्ता हाम्राे चेलीले न्याय कहिले पाउने सरकार ?'
छाेरी बलात्कार हुँदा समेत बलात्कारी र अपराधीलाई पृष्ठपाेषण हुने गरी तथाकथित इज्जत जाेगाउन खाेज्ने घटनाले सामाजिक चेतनामाथि नै प्रश्न उठेकाे उहाँले बताउनुभयाे । महिलाहरु घर परिवार,बाटाे कतै पनि सुरक्षित नरहेकाे भन्दै उहाँले आफूमाथि भएका घटना उजागर गर्ने २-४ महिलाले उठाएपनि सुनुवाइ नभइ उल्टै दाेषी करार गर्ने काम हुने गरेकाे भन्दै चिन्ता व्यक्त गर्नुभयाे ।
तीमध्ये निहारिकाले आफूमाथि भएकाे अन्याय अत्याचार विरुद्ध लड्ने शाहस गरेकी निहारिकाले डीएनए टेस्ट गरिपाउँ भन्दा अनसन बस्दा समेत सरकार किन माैन भन्दै पालले प्रश्न गर्नुभयाे - 'किन राज्य डीएनए टेस्ट गर्न डराइरहेकाे छ, दाेषी भनिएका श्रेष्ठ निर्दाेष नै भए डीएन टेस्ट गराउन डराउने ?,के पारिवारिक प्रभाव पीडितकाे न्यायिक अधिकार भन्दा ठूलाे हाे र सरकार ?'
कञ्चनपुरकी निर्मलाकाे बलात्कारपछि हत्या भएकाे ४ वर्ष बित्दा सरकारले अपराधी पत्ता लगाउन नसकेकाे बताउँदै सांसद् पालले भन्नुभयाे - ' पाेखराकी ७ वर्षीया श्रेया सुनारले बलात्कृत भएर ज्यान गुमाउनुपर्याे,सुन्दरी प्रतियाेगिताका नाममा सुस्मिता रेग्मीले दबाबमा आएर पटक-पटक बलात्कृत हुनुपर्याे, यी त केबल प्रतिनिधि पात्र हुन,बलात्कारीले शीर ठाडाे गरी हिँड्ने र पीडितले शीर निहुर्याएर हिँड्नुपर्ने विभेद कहिलेसम्म ?' ढिलाे न्याय पाउनु भनेकाे न्याय नपाउनु सरह भएकाे भन्दै उहाँले निहारिकाकाे विषयमा गम्भीर बन्न आग्रह गर्नुभयाे ।
