काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) की सांसद् लिलादेवी सिटौलाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेकाे भन्दै आपत्ति जनाउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् सिटाैलाले राष्ट्रपति पार्टीकाे कार्यकर्ता बन्न खाेजेकाे गम्भीर आराेप लगाउनुभयाे । राष्ट्रपति पार्टीकाे हुन्छ कि राष्ट्रकाे भन्दै उहाँले प्रश्न पनि उठाउनुभयाे ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले करिब दुई तिहाई नजिकको सरकार तीन वर्ष चलाउँदा पनि नागरिकता विधेयक पारित गर्न नसकेकाे भन्दै आपत्ति जनाउनुभयाे । '२२ महिनासम्म नागरिकता विधेयक समितिमा छलफल भयो तर विधेयकका रुपमा उहाँले संसद्मा ल्याउनुभएन, जब प्रधानमन्त्रीको कुर्सी हल्लियो तब उहाँले त्यही अहिले सरकारले विधेयकको रुपमा ल्याएर पास गरेको नागरिकता विधेयकलाई अध्यादेशको रुपमा ल्याउनुभयो र राष्ट्रपतिज्यूले त्यो अध्यादेशलाई लालमोहर लगाउनु भयो, तर आज त्यही अध्यादेशको रुपमा ओलीज्यूले ल्याउनुभएको विधेयक संसद्मा आयो र पास भएर गयो तर उहाँले लालमोहर लगाउनु भएको छैन, यो विडम्बना हाे ।'
नागरिकता विधेयक राेकिँदा धेरै नागरिक पीडित भएकाे सिटाैलाले बताउनुभयाे । 'राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर राष्ट्रपति राष्ट्रको हुन्छ कि कुनै पार्टीको हुन्छ कि कुनै व्यक्ति विशेषको हुन्छ कि ? म सम्बन्धित पद र त्यस पदमा रहनु हुने सम्माननीय व्यक्तिको ध्यानाकर्षण गराउन चाहन्छु'-उहाँले भन्नुभयाे ।
देशका अगुवा नेताहरुको जुँगाको लडाइँका कारण देश अस्थिर भइरहेको पनि सांसद् सिटाैलाले बताउनुभयाे । देशको परराष्ट्र नीति पार्टी पिच्छे फरक रहेको भन्दै उहाँले देशको परराष्ट्र नीति एउटै हुनुपर्ने बताउनुभयाे ।
