काठमाडाैं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद् प्रेम सुवालले वर्तमान सरकारको कुनै औचित्य नभएको बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकको विशेष समयमा बाेल्दै सांसद् प्रेम सुवालले सरकार नालायक बन्दा जनतामाथि अत्याचार बढेको आरोप बताउनुभयाे । अहिलेकाे सरकार नालायक सरकार भएकाे पनि उहाँले बताउनुभयाे ।
सांसद् सुवालले खराब ठेकेदार, मिटरब्याजीदेखि त्राहिमाम हुने, खराब उद्योगी, व्यापारी, मिसावट गर्ने कालोबजारी, तस्करदेखि डराएकाले सरकारको औचित्य नभएको बताउनुभयाे । सरकार मिटरब्याजी र तस्करसँग डराएकाे उहाँले बताउनुभयाे ।
सांसद् सुवालले मिटरब्याजीले डेढ लाख ऋणको ८० लाख ब्याज असुल्दा पनि वर्तमान सरकारले उनीहरुमाथि कारबाहीको कुनै पनि ठोस कदम चाल्न नसक्नु आपत्तिजनक रहेकाे बताउनुभयाे ।
'सरकार खराब ठेकेदारदेखि डराउने, मिटरब्याजीदेखि त्राहिमाम हुने, खराब उद्योगी, व्यापारी, मिसावट गर्ने कालोबजारी र तस्करदेखि डराउने यस्तो सरकारको औचित्य नभएको जनताको गुनासो व्यापक छ, मिटरव्याजीले डेढ लाख ऋणको ८० लाख ब्याज असुलेको, धनीहरुले गरिबमाथि गरेको अत्याचार हो, सरकार नालायक भएपछि अत्याचार बढेको हो, ३२ वर्ष यता बहुलवादी दाबी गरेकाहरुकै सरकारमा मिटरब्याजी साहुहरूको राज चालेकोमा जनताको ठूलो विरोध छ ।'
नेपालमा सांसद्हरुले नै कर्जा प्रवाहमा हालीमुहाली गरेको देखिएको भन्दै उहाँले तत्काल छानबिन हुनुपर्ने बताउनुभयाे । 'नेपालका बैंकहरुले ४० खर्ब कर्जा प्रवाह गरेकोमा १ सय परिवारको कब्जामा ३० खर्ब रुपैयाँ रहेको र त्यसमध्ये केही वर्तमान संसद्का सदस्यहरु समेत त्यसरी कर्जा कब्जा गर्नेमा रहेको समाचार पनि छ, यो ऋण प्रवाहको छानबिन हुन जरुरी छ,शासक दलका नेता र प्रधानमन्त्रीलाई त्यसरी कर्जा लिएका सांसद् काे-काे हुन यहाँ बाेल्न दिन जरुरी छ'-सुवालले भन्नुभयाे ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूको गलब मान्छेसँग साँढगाँढ रहेकाे समेत सांसद् सुवालले बताउनुभयाे । वस्तु दाल, तेल लगायत खाद्यान्न लगायतमा मिसावट रहेकाे जनताकाे गुनासाे रहेकाे बताउँदै उहाँले भन्नुभयाे - 'तर उद्याेगहरुलाई नियन्त्रण गर्नुपर्नेमा, उद्योगलाई नियमन गर्नुपर्नेमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीज्यूसँग गलत मान्छेको साँठगाँठ रहेकाले कर्मचारीले समेत राम्राेसँग काम गर्न नसकेकाे इमान्दार कर्मचारीकाे गुनासाे छ,यसबार छानबिन हुनुपर्छ र मन्त्रीलाई तत्काल बर्खास्त गर्नुपर्छ ।'
सांसद् सुवालले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी ठेकेदार सारदाप्रसाद अधिकारीको सैलुङ कन्स्ट्रक्सनले ७ वर्षदेखि अलपत्र पारेको सडक निर्माणको लागि सरकारको ध्यानाकर्षण गराउनुभयाे । 'शैलुङ कन्स्ट्रक्सनले नै ठेक्का पाएको भक्तपुरनगरकोट सडकको काम ०७१ जेठ २२ बाट सुरु भएको हाे, ०७३ असार ३ गते भित्र सकिनुपर्ने थियो, यो सडक अविलम्ब निर्माण गर्न नेपाल मजदुर किसान पार्टीले तेलकोटदेखि खरिपाटीसम्म प्रदर्शनसहित माग गरेको पनि ५ वर्ष भयाे, तर सरकारले ७ पटक म्याद थप्याे,अहिले ७९ प्रतिशत मात्र काम भएको समाचार आएको छ, नगरकोट र दुवाकोटको सडक लगायत अविलम्ब पूरा गराउन सरकारको ध्यानाकर्षण गराउँछु'-सुवालल् भन्नुभयाे ।
काठमाडौं उपत्यकाको फोहोरमैला, धुवाँधुलो र प्रदूषणको समस्या समाधान हुन नसकेकाेप्रति पनि उहाँले आपत्ति जनाउनुभयाे । 'काठमाडौंको धुवा, धुलो, जाम र फोहोरको समस्या कुनै पनि प्रधानमन्त्रीले समाधान गर्न सक्नु भएन, यो समस्याको समाधान सरकारमा गएका राजनीतिक पार्टीबाट कहिल्यै हुने छैन, यो जनताको अभिमत हो, काठमाडौंलाई नै नेपाल ठान्नेहरूबाट देशको विकास हुन सक्दैन ।'
