काठमाडाैं । नेकपा एमालेकी सांसद् मायादेवी न्यौपानेले मंसिर ४ काे चुनावपछि केपी शर्मा ओलीकाे नेतृत्वमा एमालेकाे सरकार बन्ने बताउनुभएकाे छ ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बाेल्दै सांसद् न्यौपानेले गठबन्धन सरकारबाट जनता आजित भएका भन्दै मंसिर ४ पछि केपी ओली फेरि प्रधानमन्त्री बनेर आउने बताउनुभयाे ।
गठबन्धन सरकारले जनतालाई केही दिन नसकेकाे बताउँदै सांसद् न्याैपानेले भन्नुभयाे - 'याे सरकारले जनतालाई केही दिन सक्दैन, विद्यार्थीलाई किताब दिन सक्दैन, किसानलाई मल दिन सक्दैन, व्यवसायीलाई कच्चा पदार्थ दिन सक्दैन,उद्याेगीलाई सञ्चालन गर्न अवराेध गर्छ,त्यसैले याे केही पनि दिन नसक्ने सरकारकाे नाम छैनबहादुर, दिन्न हादुर र सक्दिनबहादुर राखाैं कि क्या हाे ।'
आगामी चुनावपछि याे सरकार ढलाेस् भन्ने शुभकामना पनि उहाँले दिनुभयाे । 'हामीले सानोमा गीत सुनेका थियौं, आयो लाउरे बुटपेटी कसेर, गयो लाउरे खरानी घसेर, त्यो गीतले भने जस्तै मंसिर ४ पछि यो सरकार कमण्डलु लिएर दिल्ली बनारसतिर जाओस् दिल्लीतिर जाहाेस्, र फेरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुन: प्रधानमन्त्री हुनुहुनेछ र सुखी नेपाली समृद्ध नेपालकाे सपना साकार हुनेछ '- न्याैपानेले भन्नुभयाे ।
