काठमाडाैं । सांसद्हरु हाजिर गर्दै टाप ठोक्दै (हाजिर गरेर टाप ठोक्ने काम) गर्नाले प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
आइतबार सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ माथि छलफल भएर निणयार्थ पेस गर्ने क्रममा गणपुरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक साउन ३१ गतेसम्मका लागि स्थगित गरिएको छ ।
आजको बैठक सुरु हुँदा १ सय ७९ जना सांसद्ले हाजिर गरेका थिए । तर बैठकमा विभिन्न विधेयकलाई निर्णयार्थ पेस गर्दा ६९ जना सांसद् पनि नपुगेपछि बैठक नै स्थगित भएको हो । सांसद्हरूले हाजिर गरेर टाप ठाेकेपछि प्रतिनिधि सभा बैठक पटक-पटक प्रभावित हुने गरेकाे छ । विगतमा पनि सांसद्ले हाटा (हाजिर गरेर टाप ठोक्ने काम) गर्दा यसरी बैठक स्थगित हुने गरेको थियो ।
आजकाे पहिलो बैठकमा सांसद् प्रेम सुवालले गणपूरक संख्या एकिन गर्न माग गरेपछि १५ मिनेट घण्टी बजाएर गरिएको गणनामा गणपूरक संख्या पुगेन । कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधि सभाकाे एक चौथाइ ६९ सदस्य उपस्थित हुनुपर्छ । तर ३ मिनेट घण्टी बजार गणना गर्दा ६७ जना मात्र सांसद् उपस्थित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेका लागि बैठक स्थगित गर्नुभयाे ।
त्यसपछि पुनः दोस्रो पटक बसेको बैठकमा पनि सांसद् सुवालले नै गणपूरक संख्या एकीन गर्न माग गर्नुभयाे । त्यसपछि ३ मिनेट घण्टी बजार गणना गर्दा गणपूरकलाई ६९ जना हुनुपर्नेमा ६७ जना नै उपस्थित रहेपछि बैठक मंगलबार बिहान ११ बजे बस्ने गरी स्थगित भएकाे सभामुखले घाेषणा गर्नुभयाे ।
