काठमाडौं । नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले सरकार बिचौलियाहरूबाट कमाउने खेलमा लागेकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनि धिसभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् सुनुवारले ०७२ मा संविधान जारी गर्दा सबै दलले अबकाे यात्रा समृद्धिकाे र अबकाे यात्रा आर्थिक भनिएपनि आज त्यसाे हुन नसकेकाे बताउनुभयाे ।
गठबन्धन सरकारका कारण राष्ट्रिय गाैरवका आयाेजनाहरु अलपत्र अवस्थामा रहेका भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयाे । सांसद् सुनुवारले भन्नुभयाे - 'सरकार बिचाैलियाबाट कमाउन व्यस्त, नेताहरू चुनावका लागि चन्दा संकलनमा मस्त, कर्मचारीहरू कमिसनमा रमाउने र ठेकेदारहरू कामै नगरी कमाउने आजकाे मुलुककाे अवस्था यहाँ पुगेकाे छ भन्ने कुरा समाजमा उठ्न थालेकाे छ ।'
सार्वजनिक खरिद एेन सदनमा ल्याएर छलफल गर्न माग गरेपनि सरकारले वेवास्ता गरेकाे उहाँले बताउनुभयाे । सांसद् सुनुवारले भन्नुभयाे - 'आज जुन ढंगले हामीले गति दिनुपर्ने थियो, हामीले भनेका थियौं- सार्वजनिक खरिद ऐन यो संसद्मा ल्याइयोस्, त्यसमा आमूल परिवर्तनको खाँचो छ, राम्रो काम गर्ने पुरस्कार, ढिलासुस्ती र कमजोर काम गर्नेहरूलाई कारबाही हुनु पर्छ भनेर हामीले भनेका थियौं, तर त्यसो हुन सकिरहेको छैन ।'
आफूले प्रतिनिधित्व गरेको ओखलढुंगामा समेत विकास, निर्माणका कामहरूमा ढिलाइ रहँदा पनि सरकारले कुनै चासो नदिएको उहाँले बताउनुभयाे । विचाैलिया र सरकारबीचकाे अवाञ्छित सम्बन्धबारे कुरा उठिरहेकाे सुनुवारकाे भनाइ छ । विचाैलियासँग जाेडिएका नेता,मन्त्रीबारे कुरा उठेकाे भन्दै उहाँले सम्बन्धित सबै व्यक्तिमाथि गम्भीर छानबिन हुनुपर्ने उहाँले बताउनुभयाे ।
