काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दै छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउने सम्भावित कार्यसूची छ ।
बैठकमा सभामुख अग्निप्रसाद सापकाेटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको जानकारी गराउनुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ । सभामुखले नै अर्थ समितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभिन्न दफाहरुलाई निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ ।
अर्थ मन्त्री जनार्दन शर्माले 'सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवले 'कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनछ । उहाँले नै 'पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय सभाको सन्देश सहितको 'स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यसपछि साे विधेयकमाथि माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । मन्त्री बडूले नै राष्ट्रिय सभाको सन्देश सहितको 'स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
बैठकमा उहाँले नै राष्ट्रिय सभाको सन्देश सहितको 'प्रत्यायन विधेइङ्कक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । त्यसपछि साे 'प्रत्यायन विधेयक, २०७८' माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । मन्त्री बडूले राष्ट्रिय सभाको सन्देश सहितको 'प्रत्यायन विधेयक, २०७८ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
