काठमाडाैं । नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयककाे विषयमा जाेडेर अनावश्यक विवादमा तान्न खाेजिएकाे भन्दै कडा आपत्ति जनाएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे सुरुमै सभामुखसँग समय लिएर बाेल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपति भण्डारीलाई एमालेसँग जोडेर हेरिएको भन्दै आक्रोश व्यक्त गर्नुभयाे । संवैधानिक अधिकार प्रयाेग गरेर विधेयक फिर्ता गर्दा विराेध जनाउनुपर्ने कुनै कारण नभएकाे उहाँले बताउनुभयाे ।
राष्ट्रपति जस्ताे गरिमामय संस्थालाई पटक-पटक विवादमा ल्याउन खाेज्नु दु:खद भएकाे भट्टराईले भन्नुभयाे । 'राष्ट्रपतिलाई विवादमा तान्न खोजियो, एमालेसँग जोडेर हेरियो, मुलुकलाई कित्तामा बाँडेर नहेरौँ, राष्ट्रपतिले पुनर्विचार गर्न भनेपछि अध्यादेशसँग जोडेर हेरिएको छ, अध्यादेशमा पुनर्विचार गर्ने व्यवस्था छैन, किन अध्यादेश र विधेयकलाई एक ठाउँमा जोडेर हेर्न चाहन्छौँ, हिजाे पार्टी टुक्रा पार्ने अध्यादेश ल्याउँदा राष्ट्रपतिले रोक्नुभएन,त्यसलाई किन सम्झनुभएन ? केपी ओलीले ल्याएको अध्यादेशसँग किन जोडेर हेरिएको छ ?'- भट्टराईकाे प्रश्न छ ।
बिहे गरेकै भाेलिपल्ट नागरिकता दिन नसकिने उहाँले बताउनुभयाे । प्रमुख सचेतक भट्टराईले प्रश्न गर्नुभयाे - 'आज विहे गरेर आयो, भोलिपल्टै नागरिकता दिने व्यवस्था हामी कोसँग बसेर सहमति गरेका छौँ ?'
