काठमाडाैं । नेकपा एमालेका सांसद् प्रदीप ज्ञवालीले नागरिकता जस्तो संवेदनशील विषयलाई सत्ता पक्षले जबरजस्ती गर्न खाेजेकाे बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएकाे नागरिकता विधेयकमाथिकाे छलफलमा बाेल्दै सांसद् ज्ञवालीले नागरिकताजस्ताे संवेदनशील विषयलाई हलुका रुपमा नलिन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
नागरिकता जस्तो गम्भीर विषयलाई प्रतिपक्ष दलले रचनात्मक ढंगले सहयोग गर्ने प्रतसबद्धता पनि उहाँले जनाउनुभयाे । 'नागरिकता विधेयक छिटो टुंग्याउन प्रतिपक्ष रचनात्मक ढंगले सहयोग गर्न तयार छ, तर यसलाई जबर्जस्ती, टाउकाको गिन्तीको आधारमा गर्नुभयो भने यसका दुष्परिणाम राम्रो हुँदैनन्'-सांसद् ज्ञवालीले भन्नुभयाे ।
राष्ट्रपतिले दिनुभएकाे अवसरलाई सदुपयोग गर्नुपर्ने र सांसदहरूको टाउको गणना गरेर टुंगो लगाउन नहुने उहाँले बताउनुभयाे । 'राष्ट्रपतिले आमाको गरिमा, प्रादेशिक पहिचान या अन्य यावत प्रश्नहरूलाई एकमुष्ट समाधान गरेर नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाइयोस् भनेर अवसर दिनुभएको हो, यो टाउको गणनाबाट टुंग्याउने विषय होइन, समाज विभाजित भयो भने दुष्परिणाम पछिसम्म रहनेछ'- - ज्ञवालीले भन्नुभयाे ।
राष्ट्रपतिबाट फिर्ता हुने विधेयक प्रक्रियागत रुपमै अगाडि बढ्ने नियम रहेकाे सांसद् ज्ञवालीले भन्नुभयाे । राष्ट्रपतिले लैङिक समानता,आमाको प्रजनन अधिकार उनको प्राइपभेसी, उनको आत्मसम्मानजस्ता प्रश्नहरूमाथि ध्यानाकर्षण गराउँदै बाबुको स्वघोषणा बाध्यात्मक अवस्थाले आमाको आत्मसम्मानमा चोट पुग्छ कि पुग्दैन भन्ने असाध्यै महत्त्वपूर्ण विषय उठान गर्नुभएकाे छ ।
राष्ट्रपतिले पुनर्विचारका लागि पठाउनुभएको सन्देशमाथि गम्भीरता पूर्वक छलफल गर्नुपर्ने उहाँले बताउनुभयो । ‘यो दस्ताबेज सिङ्गो राष्ट्रलाई प्रतिनिधित्व गर्ने सबै भेग सबै समुदाय र सबै जनताको समस्या सँग जोडिएको विषय हो यो राष्र्टिय एकता हासिल गर्ने दस्ताबेज समेत हो । यो कुनै मधेस विशेषको मात्र होइन । ’
