काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले सबै कुरा अध्ययन गरेर नै नागरिक विधेयक ल्याइएकाे बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयकमाथि सांसद् उठाएका प्रश्नकाे प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँडले सबै कुरा अध्ययन गरेर विधेयक ल्याएकाले यसमा असहमति जनाउनुपर्ने कुनै कारण नरहेकाे बताउनुभयाे ।
राष्ट्र र राष्ट्रियतालाई कुनै असर नपर्नेगरी नागरिकता विभिन्न प्रावधान राखिएकाे उहाँकाे दाबी छ । गृहमन्त्री खाँडले नागरिकता ऐन २०६३ मा अंगीकृत र जन्मसिद्धका आधारमा नागरिकता उपलब्ध गराउने व्यवस्था संशोधन गर्न सरकारले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक,२०७९ ल्याएकाे बताउनुभयाे ।
नागरिकताबिहीनहरुका लागि नागरिकता दिन विधेयक ल्याइएकाले यसमा अहसमति जनाउनुपर्ने कुनै पनि कारण नरहेकाे गृहमन्त्री खाँडकाे भनाइ छ । आमा र बुवा नेपाली नागरिक हुँदा पनि तीनका सन्तानले नागरिकता नपाएकाे अवस्था रहेकाे भन्दै उहाँले नागरिकता नपाउँदा कैयाैं नागरिकहरुले सेवा सुविधा लिन नपाएकाे बताउनुभयाे ।
'अंगीकृत र जन्मसिद्धका आधारमा नागरिकता नपाएकालाई नागरिकता उपलब्ध गराउनु सरकारको कर्तव्य'-गृहमन्त्री खाँडले भन्नुभयाे । अंगीकृतकाे सवाल ०६३ मै रहेकाे र अहिले त्यसबारे केही व्यवस्था नभएकाे पनि उहाँले दाबी गर्नुभयाे ।
संविधानमा उल्लेखित प्रावधानमा टेकेर नै नागरिकता विधेयक ल्याइएकाे गृहमन्त्री खाँडले बताउनुभयाे ।
