काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गर्नुभएकाे नागरिकता विधेयक जस्ताकाे तस्तै प्रतिनिधि सभाबाट पारित भएकाे छ ।
नागरिकता विधेयक पारित भएसँगै राष्ट्रवादी र राष्ट्रघातीकाे कित्ताकाट क्लियर भएकाे प्रतिक्रिया सामाजिक सञ्जालमा आएकाे छ । विधेयक पारित हुनुअघि छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद्ले विधेयक जस्ताकाे तस्तै पारित नगर्न माग गरेका थिए ।
एमाले सांसद् प्रदीप ज्ञवालीले नागरिकता विधेयकजस्तो संवेदनशील विषयमा जनमत विभाजित नगर्न सत्तापक्षलाई चेतावनी दिनुभयाे । नागरिकता जस्तो संवेदनशील विषयलाई ‘हेड काउन्ट’को रुपमा नलिई यसमा विवेक पुर्याएर आवश्यक निर्णय लिनुपर्ने उहाँले बताउनुभयाे ।
एमाले सांसद् गोकुलप्रसाद बास्कोटाले नागरिकतालाई सस्तो नबनाउ सरकारालाई चेतावनी दिनुभयाे । हतार-हतारमा नागरिकता विधेयक ल्याउनु गलत भएकाे भन्दै उहाँले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकको पत्र गलत भए च्यातेर देखाउन सत्तारूढ दलका सांसदलाई चुनौती दिनुभयो ।
सांसद् यज्ञराज सुनुवारले नागरिकता जस्तो विषय संवेदनशील विषय भएकाले सबै दलको सहमतिमा विधेयक पारित गर्नुपर्ने बताउनुभयो ।
कृष्णगोपाल श्रेष्ठले नागरिक ताजस्ता विषय सामान्य नभएको र नागरिकताको कारणले मुलुकलाई अप्ठयारो पार्न सक्ने बताउनुभयो ।
सांसद् झपटबहादुर रावलले नागरिकता सबै नेपालीले पाउनुपर्ने र विदेशीलाई निश्चित अवधि पूरा गरेपछि मात्र दिनुपर्ने बताउनुभयो । 'अवधि नराखी कुनै पनि मुलुकमा विदेशी नागरिकलाई नागरिकता दिने गरेको छैन, भारतमा सोनिया गान्धी अङ्गीकृत नागरिक भएकाले प्रधानमन्त्री हुन पाइनन्, नेपालमा पनि विदेशी नागरिकलाई नागरिकता दिनका लागि अवधि तोकिनुपर्दछ'-उहाँले भन्नुभयाे ।
सांसद् खेमप्रसाद लोहनीले राज्य व्यवस्था समितिमा तयार गरिएको सर्वसम्मत प्रतिवेदनलाई नै विधेयकमा समेट्नुपर्ने बताउनुभयो । 'तुरुन्तै विवाह गरेर नागरिकता प्रदान गर्नु हुँदैन, त्यसले मुलुकलाई फिजीकरण बनाउँछ ।'
सांसद् कृष्णप्रसाद दाहालले राष्ट्रपतिबाट आएको सन्देशलाई पुनर्विचार गरेर तीन÷चार महिनापछि राष्ट्रिय सहमति कायम गरेर अर्को संसद्बाट पास गर्नुपर्ने बताउनुभयाे । '०७५ देखि छलफलमा रहेको विधेयक अहिले पास गर्न आवश्यक छैन, राष्ट्रिय सहमति कायम गरेर अर्को संसद् बैठकमा पारित गरौँ ।'
सांसद सीताराम महतोले सात लाख युवा नागरिकता नपाएर पढाइबाट बञ्चित रहेकाले ती व्यक्तिलाई नागरिकता दिनुपर्ने बताउनुभयाे ।
