काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभामा पेस भएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेस गर्नुभएकाे छ ।
त्यसअघि प्रस्ताव पेस गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद् प्रेम सुवालले गरेको विरोधको सूचनालाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । विधेयक पेस भएसँगै बैठक स्थगित भएकाे छ । प्रतिनिधि सभाको अर्को बैठक भदाै १३ गते बस्नेछ ।
सरकारले संक्रमणकालीन न्याय निरुपणसँग सम्बन्धित विधेयक फास्ट ट्र्याकबाट पारित गर्न खोजेकाे भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गरिरहेको छ । द्वन्द्वपीडित सेना प्रहरीका परिवार तथा अन्य सरोकारवालाहरुले पनि विधेयककाे विराेध गरेका छन् ।
साे विधेयकप्रति सत्यनिरुपण तथा मेलमिलाप आयोग, राष्ट्रिय मानव अधिकार आयोग, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरू सबै असन्तुष्ट छन् ।
